पोखरा, २१ जेठ। गण्डकी प्रदेश सरकारले हालै लागू गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयनलाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण जनजीवन प्रभावित भएपछि यो निर्णय आएको हो।

मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री र वार्ता समितिबीचको संयुक्त बैठकले नियमावली कार्यान्वयन तत्काललाई रोक्ने सहमति गरेको हो। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रलाई उद्धृत गर्दै नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गरिएको प्रदेश सचिव एवं वार्ता समिति संयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस अवधिमा यातायात व्यवसायीहरूसँग वार्ता गरी समस्या समाधान गरेर मात्र नियमावलीलाई पुनः कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो नै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सार्वजनिक यातायात बन्दले जनजीवनमा पारेको असरलाई मध्यनजर गर्दै राइड सेयरिङ नियमावलीका प्रावधानहरूलाई हाललाई स्थगित गर्न पत्राचार गरेको थियो। गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशन गरी यो नियमावली लागू गरेको थियो। तर, सोही नियमावलीको विरोधमा जेठ १६ गतेदेखि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित हुँदै आएका छन्, जसले प्रदेशको जनजीवनलाई प्रभावित पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0