पोखरा, २० जेठ। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको उल्लेखनीय सहभागिता, श्रद्धा र आशीर्वादका कारण ऐतिहासिक रूपमा सम्पन्न भइरहेको छ। आयोजकका अनुसार कोटिहोम भक्तजनको नित्य बढ्दो उपस्थिति, समाजसेवीहरू तथा सनातन धर्मप्रेमीहरूको योगदान र आशीर्वादले भव्य र गरिमामय बनेको छ।
कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले देशविदेशका श्रद्धालुहरूको उपस्थिति, गुरुजनहरूको आशीर्वचन, र शतकुण्डीय गायत्री यज्ञजस्तो दुर्लभ अनुष्ठानको दर्शन गर्नु आफैंमा मानव जीवनको लागि महान उपलब्धि भएको बताए। प्रचार संयोजक लेखराज ढकालका अनुसार, सार्वजनिक यातायात बन्द हुँदा पनि भक्तजनहरूको उपस्थिति घटेको छैन।
कोटिहोम अन्तर्गत कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी जेठ २६ गतेसम्म वाचन गर्दैछिन्। उनले भोलि गुरुङ भेषमा कथा वाचन गर्ने तयारी गरेकी छन्। कार्यक्रममा आयोजित राष्ट्रिय भजन प्रतियोगिता सम्पन्न भइसकेको छ र नतिजा जेठ २४ गते घोषणा गरिनेछ। प्रतियोगिताका निर्णायक तथा संयोजकहरूलाई सम्मान गरिएको थियो भने चर्चित गायक विमलराज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए।
वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुलका विशाल भण्डारी प्रथम भई ५१ हजार १५१ नगद र सम्मान पत्र प्राप्त गरेका छन्। अन्य विजेता तथा उत्प्रेरण पुरस्कार पाउने विद्यार्थीहरूलाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रमलाई साधु, सन्त, महन्तहरूको उपस्थितिले विशेष आकर्षण प्रदान गरेको छ।
महायज्ञको अवसरमा विविध धार्मिक अनुष्ठानहरू—जस्तै तुला दान, ग्रहशान्ति, पितृ उद्धार, विवाह, व्रतबन्ध, शक्ति पाठ, चण्डी पाठ, सहस्रार्चन पाठदेखि लिएर २१ कोटी दीप प्रज्वलनसम्मका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार यी अनुष्ठानहरू पारिवारिक सुख, समृद्धि र पितृ उद्धारका लागि समर्पित छन्।
कोटिहोम जेठ २६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रतीक बनेको यस विराट महायज्ञले सम्पूर्ण सनातनीहरूको एकता र श्रद्धाको उजागर उदाहरण प्रस्तुत गरेको छ।





























