पोखरा, २० जेठ। स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित हासिल गर्ने ऐतिहासिक कीर्तिमान बनाएको छ। २९७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम बलमा खेल जित्दै रोमाञ्चक जित दर्ता गर्‍यो।

नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा ७ चौका र ३ छक्कासहित अविजित ६५ रन बनाउँदै नेपालको कठिन क्षणमा अभूतपूर्व प्रदर्शन गरे। नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक रहँदा मात्र ३ विकेट बाँकी थियो। गुल्शन झाले छिटो रन जोड्दै दबाब घटाए पनि उनी आउट भएपछि जिम्मेवारी फेरि करण र सन्दीप लामिछानेको काँधमा आएको थियो।

४८औं र ४९औं ओभरमा करणको आक्रामक ब्याटिङले नेपाललाई खेलमा पुनः स्थापित गरायो। ४९औं ओभरमा उनले एक छक्का र दुई चौका प्रहार गर्दै १८ रन जोडेपछि अन्तिम ओभरमा ७ रन आवश्यक थियो। सन्दीप लामिछाने आउट भएपछि दबाब अझै बढेको थियो तर करणले धैर्यपूर्वक खेल्दै अन्तिम बलमा जित सुनिश्चित गरे। वाइड बलमा लिएको बाइ रन र रनआउटका बावजुद अम्पायरको वाइडको इशाराले नेपाललाई विजय दिलायो।

यसअघि स्कटल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। स्कटल्याण्डका ओपनर चार्ली टियरले ८० रनको उत्कृष्ट पारी खेले। अन्य खेलाडीमध्ये फिनले म्याकरिथले ५५, कप्तान बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन जोडे। नेपालका करण, सोमपाल र रिजनले समान दुई–दुई विकेट लिए भने सन्दीपले एक विकेट लिए।

नेपालका लागि कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रन बनाए। नेपालले यसअघि क्यानडाविरुद्ध २८७ रनको लक्ष्य पछ्याएर प्राप्त गरेको जितलाई पार गर्दै अहिलेको जितले कीर्तिमान तोडेको हो।

यो जितसँगै नेपाल लिग २ मा १३ खेलमा ८ अंक जोड्दै अंकतालिकाको आठौं स्थानबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलमा २० अंकका साथ चौथो स्थानमा यथावत् छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0