पोखरा १९, फागुन । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु गरेको छ। निर्वाचन व्यवस्थापनको प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण मानिने यो अवधिमा राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारकर्मी लगायतका सबै सरोकारवाला पक्षहरूले पालना गर्नुपर्ने विशेष आचरणहरू तोकिएका छन्। निर्वाचन आयोगका अनुसार मौन अवधिभर कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार, राजनीतिक छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला गोष्ठी वा जुलुस प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यस समयमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर आयोजना गर्न वा कुनै पनि किसिमको हुलहुज्जत र होहल्ला गरी निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न पाइने छैन। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि यी नियमहरू कडाइका साथ लागू हुने स्पष्ट पारेको छ।
विशेष गरी सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै आयोगले यसपटक अनलाइन माध्यममा विशेष निगरानी बढाएको छ। मौन अवधिमा फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल, अनलाइन पोर्टल वा छापा माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट गर्न वा सेयर गर्न पाइने छैन। उम्मेदवार र तिनका भातृ संगठनहरूले यसअघि सामाजिक सञ्जालमा राखेका विज्ञापन र प्रचार सामग्रीहरू समेत अनिवार्य रूपमा हटाउनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी, मत माग्नका लागि साउण्ड सिस्टम, एसएमएस वा अन्य कुनै पनि विद्युतीय माध्यमको प्रयोग गर्न नपाइने नियम बनाइएको छ। मतदान केन्द्रको वरिपरि शान्ति कायम राख्नका लागि मतदान हुनुभन्दा ४८ घण्टा अगावै मतदान स्थलको ३०० मिटर क्षेत्रभित्र रहेका सबै प्रचार सामग्रीहरू हटाउन निर्देशन दिइएको छ। मतदानको दिन कुनै पनि मतदाता वा निर्वाचनमा खटिएका कर्मचारीलाई बाधा पुऱ्याउने वा भय र त्रास सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।


































