पोखरा ५, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले १० हजार ८ जना कर्मचारी परिचालन गर्ने अन्तिम तयारी पूरा गरेको छ । जिल्लाभर रहेका १६६ वटा स्थायी मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रहरूमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउन यी कर्मचारीहरू खटाइने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार प्रत्येक स्थायी मतदान केन्द्रमा ६ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ । निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै कर्मचारी छनोटमा पारदर्शिता र सन्तुलन कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कर्मचारी परिचालनको विस्तृत विवरण अनुसार १६६ वटा मतदान केन्द्रका लागि १६६ जना मतदान अधिकृत, १६६ जना सहायक मतदान अधिकृत, ४९८ जना सहायक कर्मचारी र १६६ जना कार्यालय सहयोगी परिचालन हुनेछन् । यसैगरी, दुईवटा अस्थायी मतदान केन्द्रका लागि २ जना मतदान अधिकृत, २ जना सहायक मतदान अधिकृत र २ जना सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ । मतदानलाई थप व्यवस्थित बनाउन मतदान अधिकृतहरूले मतदाता संख्याका आधारमा स्वयंसेवकहरू समेत नियुक्त गर्न पाउनेछन् । ५०० भन्दा कम मतदाता भएका केन्द्रमा २ जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ३ जना स्वयंसेवक परिचालन गरिनेछ भने अस्थायी मतदान केन्द्रमा स्वयंसेवकको व्यवस्था रहने छैन ।
सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङ्हाङले निर्वाचनलाई मर्यादित बनाउन कर्मचारीहरूलाई आवश्यक निर्देशन जारी गरिने र आगामी फागुन १३ देखि १५ गतेसम्म उनीहरूका लागि विशेष प्रशिक्षण तथा तालिमको आयोजना गरिने जानकारी दिए । यस पटकको निर्वाचनमा महिला कर्मचारीहरूको सहभागितालाई विशेष प्राथमिकता दिइएको छ भने जिल्लाको एक मतदान केन्द्रमा पूर्ण रूपमा महिला कर्मचारीहरू मात्रै परिचालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निष्पक्षता कायम गर्नका लागि स्थानीय कर्मचारीहरूलाई उनीहरूको कार्यक्षेत्र भन्दा फरक मतदान केन्द्रमा खटाउने गृहकार्य भइरहेको बताए । भौगोलिक रूपमा दुर्गम र टाढाका केन्द्रमा खटिने कर्मचारीहरूलाई अतिरिक्त सेवा सुविधा समेत प्रदान गरिने कार्यालयले जनाएको छ ।































