पोखरा ४, फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ अहिले राजनीतिक चर्चाको केन्द्रबिन्दु बनेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्मथलो, ससुराली र बुहारीको माइती समेत रहेको यो क्षेत्रमा यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। विगतमा प्रचण्डलाई यसै क्षेत्रबाट चुनाव लडाउने प्रयास भए तापनि उनी सुरक्षित क्षेत्रको खोजीमा गोरखा २ पुगेका थिए। अहिले यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (नेकपा) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेले आफ्ना निवर्तमान सांसद दामोदर वैरागीलाई पुन: चुनावी मैदानमा उतारेको छ भने अघिल्लो निर्वाचनमा माओवादीलाई सघाएको नेपाली कांग्रेसले यसपटक आफ्नै युवा नेता मनोज गुरुङलाई अगाडि सारेको छ। रास्वपाले महिला उम्मेदवार विना गुरुङलाई जनअनुमोदित हुने अवसर दिएको छ भने नेकपाले एमाले पृष्ठभूमिका पुराना वामपन्थी नेता गोपाल गिरीलाई उम्मेदवार बनाएको छ।

विगतको चुनावी नतिजालाई हेर्दा कास्की ३ मा एमालेको बलियो पकड देखिन्छ। २०७९ को निर्वाचनमा एमालेका दामोदर वैरागीले २२ हजार ९८० मत ल्याएर विजयी हुँदा माओवादीका रामजी बरालले १७ हजार ५३५ मतमा चित्त बुझाउनुपरेको थियो। त्यतिबेला रास्वपाका योगराज पौडेलले अप्रत्याशित रूपमा १२ हजारभन्दा बढी मत ल्याएर सबैलाई झस्काएका थिए। यसपटक रास्वपाले जनजाति बहुलता र सामाजिक व्यक्तित्वलाई मध्यनजर गर्दै विना गुरुङलाई टिकट दिएकाले प्रतिस्पर्धा थप त्रिकोणात्मक हुने अनुमान गरिएको छ। कास्की ३ मा पोखरा महानगरपालिकाका विभिन्न वडासहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका सबै वडाहरू पर्दछन्, जहाँ कुल १ लाख ७ हजार ५६० मतदाता रहेका छन्। निर्वाचनका लागि १५ जना उम्मेदवारहरू चुनावी मैदानमा भए पनि मुख्य दलका उम्मेदवारहरूले आफ्नो पकड जमाउन घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।

कास्की ३ को ऐतिहासिक राजनीतिक पृष्ठभूमि पनि निकै उतारचढावपूर्ण रहेको छ। २०४८ सालमा एमालेका सोमनाथ अधिकारी ‘प्यासी’ विजयी भएको यस क्षेत्रमा २०५१ र २०५६ मा कांग्रेसले नतिजा आफ्नो पक्षमा पारेको थियो। २०६४ को संविधान सभामा माओवादीकी दुर्गा विक विजयी भए पनि २०७० मा पुन: एमाले र २०७४ मा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमालेका जगत विश्वकर्माले बाजी मारेका थिए। यसपटक कांग्रेसले आफ्नै उम्मेदवार मनोज गुरुङलाई उठाएकाले कांग्रेसी कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। गगन थापाले हालै पोखरा आएर रुख चिन्हमै भोट हाल्न अपिल गरेपछि कांग्रेसको माहोल तातेको छ। उता एमालेका वैरागी आफ्ना अधुरा काम पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन्। राप्रपाका अर्जुन खनालले हिन्दु राज्यको एजेण्डा बोकेका छन् भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले पनि भूगोल चिनेको उम्मेदवारका रूपमा आफ्नो उपस्थिति देखाएका छन्। माछापुच्छ्रेको फेदीदेखि फेवातालको किनारसम्म फैलिएको यो भूगोलमा कसले बाजी मार्छ भन्ने कुरा फागुन २१ को नतिजाले नै देखाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0