पोखरा १, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा एक हप्ता लामो सघन चुनावी अभियान र मतदाता भेटघाट सम्पन्न गरी शुक्रबार काठमाडौं फर्किएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि माघ २३ गते झापा पुगेका ओलीले यस अवधिमा गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका करिब ८० वटा विभिन्न टोलहरूमा पुगेर प्रत्यक्ष रूपमा मतदातासँग संवाद गरेका हुन् । निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले टोल–टोलमा पुगेर स्थानीयका गुनासा, समस्या र सुझावहरू सुन्नुका साथै राष्ट्रियताको पक्षमा पार्टीले लिएको अडानबारे स्पष्ट पारेका छन् ।
भेटघाटका क्रममा स्थानीय मतदाताले सडक पिच गर्नुपर्ने, रतुवा खोलामा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने र सुविधासम्पन्न अस्पतालको व्यवस्था गरिदिनुपर्ने जस्ता विकासका मागहरू ओलीसमक्ष राखेका थिए । विशेषगरी गौरादह–६ का बासिन्दाले रतुवा खोलाको कटान नियन्त्रणका लागि स्थायी तटबन्धको माग गर्दै ६ बुँदे ज्ञापनपत्र नै बुझाएका छन् । त्यस्तै, सीमावर्ती देवानगञ्जका बासिन्दाले नेपाली मोबाइल नेटवर्कको पहुँच नहुँदा भारतीय टावरमा निर्भर हुनुपरेको गुनासो गर्दै मोबाइल टावर स्थापना गरिदिन आग्रह गरेका थिए । मतदाताहरूले ठूला राजनीतिक नाराभन्दा पनि स्थानीय तहमा रोजगारीको सिर्जना, सुशासन र दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा विशेष चासो देखाएको पाइएको छ ।
अध्यक्ष ओलीले मतदाताका हरेक प्रश्नको जवाफ दिँदै उनीहरूको उत्साहजनक सहभागिताबाट आफू निकै उत्साहित भएको बताएका छन् । दमक नगरपालिकाका १० वटै वडाका बाँकी टोलहरूमा भने फागुन ४ गतेपछि पुनः दोस्रो चरणको भेटघाट गर्ने कार्यतालिका रहेको छ । यसपटकको घरदैलोले विगतका कतिपय राजनीतिक घटनाक्रमका बारेमा रहेका भ्रम चिर्न र कार्यकर्ताहरूलाई जनतासँग सिधै जोड्न सफल भएको दाबी एमालेका स्थानीय नेताहरूले गरेका छन् । झापा ५ मा यसपटक ओली र राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार बालेन शाहबीचको प्रतिस्पर्धालाई राष्ट्रिय स्तरमै निकै चासोका साथ हेरिएको छ ।


































