पोखरा १६, माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी मुलुकको सनातन सभ्यता र बहुलवादी समाजको रक्षा गर्ने बलियो कवच भएको दाबी गर्नुभएको छ। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टीमाथि लगाइएका विभिन्न आरोपहरूको खण्डन गर्दै वाग्लेले रास्वपाको वैचारिक स्पष्टताका बारेमा धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले रास्वपा सनातन सभ्यताको रक्षक हुनुका साथै उदार, सहिष्णु र उन्नत लोकतन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। विपक्षीहरूले जनतामा भ्रम छर्न खोजेको भन्दै उहाँले पार्टीको मार्गचित्र र दस्तावेजहरू स्पष्ट हुँदाहुँदै नकारात्मक टीकाटिप्पणी हुनु दुःखद रहेको बताउनुभयो।

डा. वाग्लेले सर्वसाधारण तथा सरोकारवालाहरूलाई पार्टीका सार्वजनिक दस्तावेजहरू पढेर मात्र आधिकारिक धारणा बनाइदिन विशेष आग्रह समेत गर्नुभएको छ। नेपालको इतिहास र यहाँको मौलिक सनातन सभ्यताप्रति रास्वपालाई सधैं गर्व रहेको कुरा पार्टीका नीतिगत दस्तावेजहरूमा स्पष्टसँग उल्लेख गरिएको उहाँको भनाइ थियो। प्रश्न सोध्नुभन्दा पहिले पार्टीले अंगिकार गरेका लिखित सिद्धान्तहरूको अध्ययन गर्न सुझाव दिँदै उहाँले रास्वपा आधुनिकता र परम्पराको सही सन्तुलन कायम गर्दै अघि बढ्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0