पोखरा १४, माघ। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले लामो समयदेखि कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका थप ९ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ। माघ ९ गतेको निर्णयानुसार स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एउटा सहकारी संस्था खारेजीमा परेका हुन्। यससँगै गण्डकी प्रदेशमा दर्ता खारेज हुने सहकारीको कुल संख्या ३५ पुगेको छ। कार्यालयले यसअघि २६ वटा सहकारीहरूलाई खारेज गरिसकेको थियो। गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) को प्रावधान अनुसार लगातार दुई वर्षसम्म कुनै पनि आर्थिक कारोबार नगरेका र साधारण सभा समेत नगरेका संस्थाहरूलाई खारेज गरिएको रजिस्ट्रार भेषराज रिजालले जानकारी दिनुभएको छ।

रजिस्ट्रार कार्यालयले गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै ती संस्थाहरूलाई अद्यावधिक हुन र सम्पर्कमा आउन आह्वान गरेको थियो। सूचनाको समयसीमाभित्र पनि कुनै विवरण पेश नगरेपछि र कार्यालयको सम्पर्कमा नआएपछि ती संस्थालाई अस्तित्वमा नरहने गरी खारेजीको निर्णय गरिएको हो। खारेजीमा परेका संस्थाहरूमा स्याङ्जाको टापु भञ्ज्याङ कृषि, कटौजे अदुवा उत्पादक, खड्क कालो कृषि र सरोवर कृषि सहकारी रहेका छन्। त्यस्तै, पर्वतका गहते पखरा दुग्ध उत्पादक, प्रगति कफी, पूर्णेश्वर कफी र पर्वत आदर्श नमुना कृषि सहकारीका साथै नवलपुरको भूपूसैनिक सहकारी पनि बन्द भएका छन्। खारेज भए पनि ती संस्थाको कुनै वित्तीय दायित्व वा ऋण बाँकी रहेमा त्यसको भुक्तानी गर्ने अन्तिम जिम्मेवारी सम्बन्धित सञ्चालक तथा पदाधिकारीकै हुने कानुनी व्यवस्था छ। हालसम्मको तथ्याङ्क अनुसार स्याङ्जामा सबैभन्दा धेरै १२ वटा सहकारी खारेज भएका छन् भने बागलुङका अन्य निष्क्रिय सहकारीहरू पनि खारेजीको प्रक्रियामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0