पोखरा १४, माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा व्यापक अनियमितता भएको भन्दै यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेर १७ जना कर्मचारी र ३ जना ट्राफिक प्रहरीको मोबाइल फोन जफत गरेको छ। आयोगका अनुसार चाबहिल कार्यालयका प्रमुख (नवौँ तह) पेशलकुमार पोखरेलसहितका कर्मचारीहरूले बिचौलियासँगको मिलेमतोमा लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरूलाई प्रतिव्यक्ति ५ हजारदेखि १० हजार रुपैयाँसम्म लिएर उत्तीर्ण गराउने गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।
यस प्रकरणमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन जना ट्राफिक प्रहरी र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जना बिचौलियाको समेत मोबाइल नियन्त्रणमा लिइएको छ। कुल ३७ थान मोबाइल जफत गरेको अख्तियारले लिखित परीक्षामा फेल भएको ३ महिना नपुग्दै पुन: परीक्षामा सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिका समेत बरामद गरेको छ। सरकारी संयन्त्र र निजी ड्राइभिङ सेन्टरको मिलेमतोमा भइरहेको यो संगठित भ्रष्टाचारको गहिरो अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याबमा मोबाइलहरूको परीक्षण गरिने आयोगले जनाएको छ।































