पोखरा १४, माघ। नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित प्रतिष्ठित ‘ट्राभल एन्ड एडभेन्चर शो २०२६’ मा सफलतापूर्वक सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाएको छ। न्युयोर्कस्थित जेकब के जाभिट्स कन्भेन्सन सेन्टरमा जनवरी २४ र २५ मा सम्पन्न यस दुई दिने अन्तर्राष्ट्रिय मेलामा नेपालले आफ्नो साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई प्रमुखताका साथ प्रस्तुत गरेको थियो। उत्तर अमेरिकी बजारमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा यस कार्यक्रममा भाग लिएको हो।

नेपालका लागि अमेरिका एक अत्यन्त महत्त्वपूर्ण र दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहँदै आएको छ। सन् २०२५ को तथ्याङ्क अनुसार १ लाख १२ हजार ३ सय १६ जना अमेरिकी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए, जसले अमेरिकी बजारको बढ्दो महत्त्वलाई पुष्टि गर्दछ। यही सुखद पृष्ठभूमिलाई ध्यानमा राख्दै बोर्डले न्युयोर्क शोमा नेपाल प्याभिलियनमार्फत साहसिक पर्यटनका उत्पादनहरू विशेषगरी पर्वतारोहण, ट्रेकिङ र पदयात्रा सम्बन्धी गतिविधिहरूमा केन्द्रित भई प्रचार-प्रसार गरेको थियो। मेलाका क्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी र सम्भावित यात्रुहरूले नेपालको हिमालयी पदयात्रा र साहसिक खेलहरूप्रति निकै उत्साहजनक चासो देखाएका थिए।

कार्यक्रमको पहिलो दिन न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल प्याभिलियनको अवलोकन गर्दै सहभागी पर्यटन कम्पनीहरूसँग अन्तर्क्रिया गर्नुभएको थियो। उहाँले विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूबाट नेपालमा थप पर्यटक आकर्षित गर्नका लागि सम्भावित सहकार्यका क्षेत्रहरूका बारेमा छलफल गर्नुभएको थियो। पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले प्रतिनिधित्व गरेको यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीहरूसँगको व्यावसायिक सम्बन्धलाई विस्तार गर्न र ‘डेस्टिनेसन नेपाल’ को पहिचानलाई विश्वबजारमा थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बोर्डको विश्वास छ। यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने निरन्तरको उपस्थितिले आगामी दिनमा अमेरिकी पर्यटकको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0