पोखरा १४, माघ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत दुई जना प्रहरी कर्मचारी लागुऔषध कारोबारीसँग २ लाख रुपैयाँ असुलेको गम्भीर आरोपमा पक्राउ परेपछि सादा पोशाकका प्रहरीको कार्यशैली र नैतिकतामाथि पुनः प्रश्न उठेको छ। पक्राउ पर्नेमा प्रहरी हवल्दार धीरेन्द्र विष्ट र जवान सुजन कार्की रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेषगरी हवल्दार विष्ट यसअघि पनि विवादित छवि भएका व्यक्ति हुन्। उनी २०७७ सालमा न्युरोडमा भएको १० लाख रुपैयाँ हुन्डी लुटपाट प्रकरणमा मुछिएका थिए, यद्यपि पछि सफाइ पाएर पुनः सादा पोशाककै जिम्मेवारीमा फर्किएका थिए। ट्र्याक रेकर्ड खराब भएका कर्मचारीलाई पुनः संवेदनशिल जिम्मेवारी दिँदा यस्ता घटना दोहोरिएको भन्दै प्रहरी नेतृत्वको आलोचना भइरहेको छ।

यस घटनाले सादा पोशाकका प्रहरी (घुमुवा) हरूको व्यापक दुरुपयोग र आर्थिक अनियमिततालाई उजागर गरेको छ। प्रहरी प्रधान कार्यालयले पछिल्लो समय सादा पोशाकमा कार्यरत प्रहरीहरूविरुद्ध उजुरी र गुनासो बढेपछि देशभरबाट ८२ जनालाई हेडक्वार्टर झिकाएर छानबिन थालेको छ। केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार संगठनको नीतिविपरीत काम गर्ने, अवैध गतिविधिमा जोडिने र आर्थिक अनियमिततामा मुछिएका प्रहरी कर्मचारीहरू अहिले उजुरी छानबिन महाशाखाको दायरामा छन्। पछिल्लो पटक २० पुसमा मात्रै मधेश प्रदेशसहित विभिन्न स्थानबाट ३२ जनालाई सर-सामग्रीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। छानबिनका क्रममा कतिपयले ट्राफिक तालिम नै नलिई ट्राफिक ड्युटी गरेको र कोही ८ वर्षदेखि एउटै क्षेत्रमा सादा पोशाकमा कार्यरत रहेको समेत पाइएको छ।

विगतमा पनि सादा पोशाकका प्रहरीको बदनाम भएपछि सुधारका प्रयास नभएका होइनन्। २०८० चैतमा तत्कालीन गृहमन्त्रीले अपराध अनुसन्धान बाहेकका सादा पोशाकका प्रहरीलाई तत्काल युनिफर्म ड्युटीमा फर्काउन निर्देशन दिएका थिए। त्यसअघि २०७९ मा गठन भएको अध्ययन कार्यदलले सादा पोशाकका प्रहरीको कार्यकाल बढीमा ४ वर्ष हुनुपर्ने र उनीहरूको ट्र्याक रेकर्ड हेरेर मात्र खटाउनुपर्ने सुझाव दिएको थियो। तर, ती प्रतिवेदन र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन नहुँदा विष्ट जस्ता विवादित व्यक्तिहरूले पुनः लाभ लिने र संगठनको छवि धुमिल बनाउने काम जारी रहेको देखिन्छ। प्रहरी प्रधान कार्यालयले अहिले दोषी देखिएकालाई विभागीय कारबाही गर्ने र निर्दोषलाई कार्यक्षेत्रमा फर्काउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0