पोखरा ११, पौष। विगत दुई दशकदेखि नेपाली राजनीतिको केन्द्रविन्दु बालुवाटार, सिंहदरबार र बालकोट जस्ता स्थानहरूमा सीमित रहे पनि पछिल्ला दिनहरूमा ललितपुरको ज्वागल नयाँ शक्तिकेन्द्रका रूपमा उदाएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ज्वागलस्थित कुमार बेनको निवासमा १२ घण्टाभन्दा लामो समय बिताउँदै विभिन्न राजनीतिक दलका नेता, अभियन्ता र जेनजी अगुवाहरूसँग सघन छलफल गरेपछि वैकल्पिक राजनीतिको नयाँ खाका तयार हुन थालेको संकेत मिलेको छ। बालेनले आफू अब प्रत्यक्ष रूपमा पार्टी राजनीतिमा सक्रिय हुने र आफ्नै नेतृत्वमा वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने स्पष्ट धारणा राखेका छन्। यसैक्रममा उनले रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जेनजी अगुवाहरूसँग छुट्टाछुट्टै तथा सामूहिक संवाद गरेका छन्।
ज्वागलको यो सरगर्मी ७ पुसमा रवि र बालेनबीच भएको लामो संवादको निरन्तरता भए पनि बालेनले रास्वपाको ‘पोस्टर ब्वाई’ मात्र बन्नुभन्दा आफ्नै मौलिक नेतृत्वमा ‘देश विकास पार्टी’ मार्फत अघि बढ्ने तयारी थालेका छन्। छलफलका क्रममा रवि लामिछानेले पार्टीको नाम र उम्मेदवारीको अनुपातमा लचकता देखाउँदै एक लिखित प्रस्ताव नै पेश गरेका थिए। बालेनले भने समानुपातिक सूचीको तयारी आफैँले गरिरहेको र आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी चुनावी समीकरण मिलाउनुपर्नेमा जोड दिएका छन्। उनले हर्क साम्पाङ, गोपी हमाल र कुलमान घिसिङ जस्ता स्वच्छ छवि भएका पात्रहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेका छन्। कुलमान घिसिङले ‘देश बनाउने हकमा हामी सँगै छौँ’ भन्दै सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाउनु र डा. बाबुराम भट्टराईले वैकल्पिक शक्ति मिल्नुपर्ने आफ्नो १० वर्षदेखिको सपना पूरा हुन लागेको बताउनुले यो ध्रुवीकरणलाई थप बल पुर्याएको छ।
बिहीबार दिनभर ज्वागलमा देखिएको राजनीतिक चहलपहलले परम्परागत शक्तिहरूलाई चुनौती दिने नयाँ ध्रुवको शिलान्यास गरेको छ। बैठकमा डा. सुनिल शर्मा, अमरेश कुमार सिंह, मिलन पाण्डे र रक्षा बम जस्ता पात्रहरूको उपस्थिति थियो, जसले नयाँ र पुरानो शक्तिबीचको लडाइँ सुरु भएको संकेत गरे। बालेनले भ्रष्टाचारमुक्त र भिजनरी नेतृत्वको आवश्यकता औंल्याउँदै सबै पक्षलाई एउटै सूत्रमा बाँध्न आफू तयार रहेको बताएका छन्। मिडियाकर्मीको बाक्लो उपस्थिति र सामाजिक सञ्जालमा देखिएको उत्साहले ज्वागल अब वैकल्पिक राजनीतिको ‘नयाँ हेडक्वार्टर’ बनेको पुष्टि गर्दछ। आगामी दिनमा हुने थप वार्ताहरूले यो सहकार्यको अन्तिम मोडालिटी तय गर्नेछ र यसले आगामी निर्वाचनको गणितलाई पूर्ण रूपमा बदल्न सक्ने अपेक्षा गरिएको छ।































