पोखरा १०, पौष। कास्कीको लेखनाथमा जारी २१औं संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले नौलो कार्यक्रमको सुरुवात गरिएको छ। महोत्सवको छैटौं दिन मंगलबार आयोजित ‘उद्योग बहस’ मार्फत पहिलो पटक उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ। सुरुका वर्षहरूमा सुन्तला प्रदर्शनमा मात्र सीमित यो महोत्सव अहिले स्थानीय कला, संस्कृति र औद्योगिक प्रवद्र्धनको साझा केन्द्र बन्न पुगेको छ। बहसमा कर्माचार्य ग्रुपका विक्रम कर्माचार्य, दीप आइसक्रिमकी पम्फा देवकोटा र मनकामना प्लाइउडका नारायणप्रसाद बास्तोलाले आ-आफ्नो व्यावसायिक यात्राका संघर्ष र सफलताका कथा सुनाउँदै स्वदेशी उत्पादनको ब्रान्डिङमा जोड दिएका थिए।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महाराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने र औद्योगिक क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए। उनले डीपीआरमै ठूलो खर्च हुने समस्यालाई समाधान गर्न अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए। स्थानीय बजारलाई चलायमान बनाउन सफल यस महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। प्रचार-प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् भने दैनिक करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको छ। यस बहसले साना तथा मझौला व्यवसायीहरूलाई उत्साहित बनाउँदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।






























