पोखरा १०, पौष। राप्रपा र राप्रपा नेपालले आगामी १६ पुसमा ‘पार्टी एकता घोषणासभा’ गर्ने तयारी गरेका छन्। सोही कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले राप्रपा नेपालले आगामी १५ पुसका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठक सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा दिउँसो १:०० बजे बस्नेछ। बैठकमा एकता प्रक्रियाका बाँकी कार्यभार र घोषणासभाको तयारीका विषयमा घनीभूत छलफल हुनेछ।
लामो समयको संवाद र गृहकार्यपछि बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए। गत महाधिवेशनमा पराजय भोगेपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्जीवित गरेका थिए, तर अहिले बदलिएको राजनीतिक परिस्थिति र आगामी निर्वाचनलाई दृष्टिगत गर्दै दुवै पक्ष एक ठाउँमा आएका हुन्। यो एकताले राष्ट्रवादी र दक्षिणपन्थी शक्तिलाई थप सुदृढ बनाउने विश्वास दुवै दलका नेताहरूले व्यक्त गरेका छन्।































