पोखरा २१, मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ठेकेदार कम्पनी चीनको ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ लाई पनि प्रतिवादी बनाएको छ। सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र उक्त चिनियाँ कम्पनीबीच सम्झौता भएको थियो। सम्झौताअनुसार चाइना एक्जिम बैंकले दिएको २१६ मिलियन अमेरिकी डलर ऋणबाट विमानस्थललाई ‘टर्न की प्रोजेक्ट’ को रूपमा निर्माण गर्ने सहमति भएको थियो।
सम्झौतामा विमानस्थलको डिजाइन, सामग्री खरिद, र ४५ मिटर चौडा र २५०० मिटर लामो रन वे सहितको निर्माण सम्पन्न गरेर नेपाललाई बुझाउनुपर्ने उल्लेख थियो। तर, निर्माणस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने भए पनि चिनियाँ कम्पनीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गरेर माटो ओसारपसारको ठूलो खर्च जोगाएको अख्तियारको आरोप छ। कम्पनीले माटो ओसारपसारका लागि मात्रै ८० लाख अमेरिकी डलर छुट्याएको देखिएको थियो। चिनियाँ ऋणमा बन्ने भएकाले चिनियाँ कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने सर्तअनुसार, नौ आवेदनमध्ये चाइना सीएएमसी छनोट भएको थियो। साथै, परामर्शदाता कम्पनीहरू ईआरएमसी र सीएएमसीकै भगिनी संस्था आईपीपीआर निर्माण कार्यलाई सदर गर्न मात्र नियुक्त भएको अख्तियारको भनाइ छ।































