पोखरा २१, मंसिर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जीतका लागि १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो। कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रनको योगदान दिए, जसका लागि उनले ३२ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे।
अन्य ब्याट्सम्यानतर्फ गुल्सन झाले २० बलमा १९ रन जोडे भने कप्तान सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै १० बलमा एक चौका र एक छक्कासहित १८ रन बनाए। प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले किफायती प्रदर्शन गर्दै २-२ विकेट लिए। संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १-१ विकेट हात पारेका थिए।































