पोखरा १२, मंसिर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको ध्यान बृहत् वामपन्थी एकतामा केन्द्रित रहेको र नेकपा (एमाले) सँग पनि एकीकरणको सम्भावना खुला रहेको बताएका छन्। नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ भन्दा बढी वाम घटकहरू गोलबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको जानकारी दिए। उनले १५ वाम घटकबीचको यो एकता नेपालको इतिहासमै पहिलो रेकर्ड भएको दाबी गरे।

प्रचण्डले अहिलेको एकता पर्याप्त नभएको भन्दै राष्ट्रको रक्षा र जनताको आकांक्षा तथा आवश्यकता पूरा गर्न बृहत् वाम एकता आवश्यक रहेको औँल्याए। उनले एमालेभित्रका सबै देशभक्त, वामपन्थी क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूलाई ‘नेपाली कम्युनिस्ट पार्टी’ मै केन्द्रित हुन जोडदार आह्वान गरे। उनले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम सबैलाई अट्न सक्ने, सबैको अधिकार र क्षमता प्रयोग हुनसक्ने गरी राखिएको भन्दै अब कसैले पनि आफ्नो पहिचानको ‘पुच्छर झुण्डाइराख्न’ नपर्ने बताए। उनले देशभरका क्रान्तिकारीहरूले नेपाली कम्युनिस्ट पार्टीलाई आशा र नयाँ भरोसाका साथ हेरिरहेको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0