पोखरा १२, मंसिर। सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोडको आरोपमा प्रहरीले विभिन्न कसुरमा मुद्दा चलेका व्यक्तिदेखि पूर्वविद्यार्थी नेतासम्म गरी पाँच जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले अहिलेसम्म पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए। सर्वोच्च अदालत आगजनी र तोडफोडको अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ। अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार सार्वजनिक भएका फोटो, भिडियो तथा सीसीक्यामेराको फुटेजको सहयोगमा अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा काभ्रे मन्डनदेउपुरका २३ वर्षीय एलेक्स नेपाली भनिने कुमार पराजुली र ललितपुर कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियार छन्, जो यसअघि ‘जेनजी’ आन्दोलनमै आपराधिक उपद्रवको कसुरमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भइसकेका व्यक्ति हुन्। एलेक्सबाट प्रहरीबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको थियो भने सम्राट ज्यान मार्ने उद्योगसहित आठ मुद्दा चलेका व्यक्ति हुन्। सर्वोच्च जलाएको आरोपमा झापा भद्रपुरकी २८ वर्षीया ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थानका ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पनि परिसर भद्रकालीको हिरासतमा छन्। उनीहरूविरुद्ध आपराधिक अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। यस्तै, नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पनि पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार, उनले सर्वोच्च अदालत जलाउँदा उक्साहटपूर्ण अभिव्यक्ति दिएर मतियारको भूमिका निभाएको आरोपमा अनुसन्धान भइरहेको छ। सर्वोच्च अदालत जलाउँदा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।































