पोखरा १९, असोज। गत वर्ष असोज ११ र १२ गतेको बाढी र पहिरोको क्षति पूर्ण रूपमा पुनर्निर्माण भइनसक्दै यसवर्ष पनि २४ घण्टादेखि निरन्तर वर्षा भइराखेको छ र सोमबारसम्मै वर्षा जारी रहने जल तथा मौसम विभागले प्रक्षेपण गरेको छ। विभागले नागरिकहरूलाई सन्देशमार्फत बाढी र डुबान हुने क्षेत्रमा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस विषम परिस्थितिमा सरकारले गत वर्षको अनुभवबाट पाठ सिक्दै प्रभावकारी सूचना प्रवाह प्रणाली सक्रिय बनाएको छ, जसबाट सर्वसाधारण सूचनाको पहुँचमा पुगेका छन्। सरकारले असोज १७ देखि २० गतेसम्म लामो दूरीको यात्रा नगर्न र राजमार्गमा सवारीसाधन रोक्न निर्देशन जारी गरेको छ, साथै विपद् जोखिम न्यूनीकरण प्राधिकरणले ६३ जिल्लामा माइकिङ गरी सुरक्षित रहन नागरिकहरूलाई आह्वान गरेको छ।

दशैं मनाएर सहर फर्किन नपाउँदै सुरक्षा खतराबारे सूचित गरिएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै विपद्को पूर्वसूचना प्रवाहमा निरन्तर जुटिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ भिडियो सन्देश जारी गर्दै सरकारी निकायहरूलाई सावधानी अपनाउन र उद्धार राहतमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सरकारले जोखिम हुनसक्ने राजमार्गहरूमा राति गाडी चलाउन बन्द गर्नुका साथै काठमाडौं उपत्यका सवारीसाधन भित्रन र बाहिरिन तीन दिन रोक नै लगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीको यात्रामा निस्केका सवारीसाधनलाई होल्डिङ स्थान तोकेर सुरक्षित स्थानमा राख्ने प्रयास गरेको छ। यसअन्तर्गत बीपी राजमार्गमा धुलिखेल हुँदै गएका सवारीसाधन काभ्रेभन्ज्याङमा र चितवनबाट आउन लागेका सवारीसाधन उतै होल्ड गरिएका छन्।

राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टका अनुसार सिडिओमार्फत खाद्यान्न व्यवस्थापनको सूचना प्रवाह गरिएको छ। विपद्का बेला स्थानीय सरकारका साथै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई २४ सै घण्टा तैनाथ राखिएको छ, जसले नागरिकहरूलाई राहत, उद्धार र व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ।

काठमाडौं उपत्यकाभित्र पनि बागमती खोला करिडोरका बस्तीहरू जोखिममा रहेकाले काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई नजिकका सुरक्षित विद्यालयहरूमा स्थानान्तरण गरेको छ। महानगरपालिकाले बागमती र विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर वडा सदस्यहरूमार्फत समन्वय गरी आश्रयस्थल तोकेको हो। विपद प्रतिकार्यमा सात हजार बढी सशस्त्र प्रहरी परिचालन भएका छन् भने २६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ। यस्तै, बागमती प्रदेश सरकारले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ, जसले उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गर्नेछ। यसैगरी प्रमुख राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल, आम जनता पार्टी) ले समेत आफ्ना नेता–कार्यकर्ताहरूलाई उद्धार, राहत र सहयोगमा सक्रिय हुन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0