पोखरा २२, भाद्र। नयाँ बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएका जेन-जी युवाहरूले भरिएको काठमाडौंस्थित ट्रमा सेन्टरको अवस्था युद्धको मैदानजस्तो बनेको छ। २४ भदौको दिउँसो पौने २ बजेदेखि ट्रमा सेन्टरमा धमाधम घाइतेहरू ल्याउन थालिएको थियो, जसले गर्दा इमर्जेन्सी कक्ष भरियो र बिरामीलाई भुइँमा राखेर पनि उपचार गर्नुपर्ने अवस्था आयो। ट्रमा सेन्टरका डा. सन्तोष पौडेलका अनुसार, सिभिल अस्पतालबाट १०० भन्दा बढी घाइतेले भरिएको खबर आएपछि उनीहरूलाई ट्रमामा रेफर गरिएको थियो।

घाइतेको उपचारका लागि ओपीडीका डाक्टरहरू पनि इमर्जेन्सीमै खटिएका थिए भने वीर अस्पतालबाट समेत विशेषज्ञ चिकित्सकहरूको टोली बोलाइएको थियो। पचास जनाभन्दा बढी चिकित्सकले घाइतेहरूको उपचारमा दिनभर खटिएर काम गरेका थिए। स्नायु नसा तथा मेरुदण्डरोग विशेषज्ञ डा. राजीव झाका अनुसार, चार जना घाइतेलाई सीपीआर दिएर पनि बचाउन सकिएन। डा. झाले स्कूलको ड्रेस र झोला बोकेका घाइतेहरू देख्दा आफ्नो आँखा रसाएको बताए। उनका अनुसार, धेरै विपद्‌मा काम गरे पनि आजको घटनाले आफूलाई भावुक बनाएको थियो।

गोली लागेर आएका घाइतेहरूको शल्यक्रिया गरेर गोली निकाल्ने काम अहिले पनि जारी छ। डा. झाका अनुसार, कसैको टाउको, छाती र मुटुको अगाडि गोली लागेको छ। अधिकांशलाई रबरको गोली लागेको भए पनि पछि अस्पताल पुगेका केही घाइतेलाई भने बुलेट गोली नै लागेको आशंका चिकित्सकहरूले गरेका छन्। डा. पौडेलका अनुसार, न्यूरोको टिमले गोली निकाल्ने काम गरिरहेको छ। अचानक धेरै बिरामी आउँदा डेढ घण्टामै अस्पतालमा रगतको अभाव भएको थियो। स्वास्थ्यकर्मीहरू आफैंले रगत दान गरेर घाइतेको उपचार गर्नुपरेको थियो।

अस्पतालको शय्यामा रहेका केही घाइतेले आफूहरू स्वस्फूर्त आन्दोलनमा सहभागी भएको र संसद् भवनभित्र छिरेको बताएका छन् भने केही हिँडेको बेला गोली लागेको दाबी गरेका छन्। अनलाइन खबरको टोली राति ८ बजे ट्रमा सेन्टर पुग्दा गेटबाहिर मृतक र घाइतेको सूची टाँसिएको थियो। प्रहरीको बाक्लो उपस्थिति थियो र आफन्तहरू गेटमा सोधखोज गरिरहेका थिए। यसैबीच, प्रदर्शनकारीले नाराबाजी गर्न थालेपछि प्रहरीले अस्पतालको गेटमै लाठीचार्ज गरेको थियो। सोमबार बिहानदेखि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको जेन-जीको आन्दोलनका कारण देशभर १९ जनाको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0