पोखरा, २८ असार। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरस्थित थाप्लेमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण थालिएको छ। समुद्री सतहदेखि १९०७ मिटर उचाइमा रहेको समथर सार्वजनिक गौचरनलाई प्रयोग गरी निर्माण हुन लागेको उक्त मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ।

गाउँपालिका कार्यालयको लगानी र स्थानीय जनश्रमदानमा आधारभूत काम थालिएको हो। अहिले मैदान सम्याउने प्रारम्भिक कार्य सम्पन्न भइसकेको र वर्षा सकिएपछि कामलाई तीव्र गतिमा अघि बढाइने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।

रङ्गशालाको निर्माण राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने मापदण्ड अनुरूप भइरहेको छ। मैदानको मध्य भागबाट चारैतिर ४५ मिटरको वृत्त बनाइँदैछ। मैदानको पीच निर्माण तथा अन्य प्रविधिक पक्षमा क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश र केन्द्रीय तहका अनुभवी व्यक्तिहरूसँग परामर्श लिइएको छ।

क्रिकेटर लामिछानेको जन्मस्थानमा निर्माण भइरहेको यस मैदानले नयाँ प्रतिभा पहिचान र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गाउँपालिकाको छ। अभ्यासका लागि छुट्टै स्थान समेत बनाउने तयारी गरिएको छ।

रङ्गशाला निर्माणस्थल नजिकै दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (सिरुबारी) रहेकोले पर्यटन र खेल क्षेत्रलाई सँगसँगै प्रवर्द्धन गर्न सकिने अध्यक्ष तिवारीले बताए। निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गरी यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0