पोखरा, १० असार। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा मुलुकको परिवर्तन र अग्रगमनको गति सुस्त हुने स्पष्ट पारेका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले युवाहरू व्यक्तिको पछाडि लाग्ने होइन, सही विचार र नीतिको पक्षमा उभिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले वर्तमान समयमा युवा संगठनको काँधमा असाधारण जिम्मेवारी रहेको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनसम्म संघको नेतृत्वले सिङ्गो कार्ययोजना बनाई असाधारण सक्रियताका साथ काम गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक न्याय, सुशासन, वैज्ञानिक दृष्टिकोण र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता जनाउँदै युवाहरूलाई वैचारिक र सांगठनिक हिसाबले सुदृढ बनाउने अपेक्षा राखे।
उनले सही विचारका पछि लागेर आन्दोलन गर्न सक्ने, भ्रमको खण्डन गर्न सक्ने र उद्यमशीलतातर्फ अगाडि बढ्न सक्ने योजनाको आवश्यकता औंल्याए। युवालाई देश निर्माणको प्रमुख शक्ति भन्दै उनले भने, “युवाहरू सही बाटोमा अघि बढेमा देश पनि त्यसैअनुसार अघि बढ्छ। तर उनीहरू भ्रममा परेमा वा निराश भएमा परिवर्तनको गति मन्द हुन्छ।”
ओलीले नेतृत्वप्रतिको असहिष्णुताले पार्टीमा भ्रम र अस्थिरता निम्त्याउने भन्दै युवाहरूलाई सही दृष्टिकोणबाट नेतृत्व चयनमा ध्यान दिन आग्रह गरे। उनले इनोभेटिभ सोचका साथ नयाँ उपलब्धि हासिल गर्ने युवालाई पार्टीले अघि बढाउने बताए।
यस क्रममा उनले जनताको बहुदलीय जनवाद (जबज) पारित भए पनि तत्कालीन समयमा सही नेतृत्व नपाउँदा आन्दोलन दिशाहीन बनेको स्मरण गर्दै, पछि मात्र सक्षम नेतृत्वको हातमा पार्टी सुदृढ भएको बताए। उनले भने, “कहिलेकाहीँ उही नेता आवश्यकताले दोहोरिन्छ। नेतृत्व परीक्षणको विषय हो। त्यसले पार्टीको भविष्यमाथि प्रभाव पार्दछ।”
बैठकमा सहभागी युवाहरूलाई उनले संगठनप्रति निष्ठावान् भई आत्मविश्वासका साथ पार्टीको नीतिलाई जनस्तरसम्म पुर्याउन पनि निर्देशन दिए।































