पोखरा, २१ जेठ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध १ विकेटको सनसनीपूर्ण जित हासिल गरेपछि उच्च मनोबलका साथ मैदानमा उत्रिने नेपाली टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ। स्कटल्यान्डको मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे खेल सुरु हुनेछ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिजमा नेपालको यो दोस्रो खेल हो। करिब सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपालका लागि लिग-२ मा आफ्नो स्थान कायम राख्न आगामी खेल जित्नै पर्ने दबाब छ। लिग-२ को शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछन्, जबकि अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।
हाल लिग-२ को अंक तालिकामा नेपाल १३ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। २० अंकसहित चौथो स्थानमा स्कटल्यान्ड (१७ खेल) र २६ अंकसहित दोस्रो स्थानमा नेदरल्यान्ड्स (२० खेल) छन्। शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८ अंक छ भने तेस्रो स्थानमा ओमान (२४ खेल), पाँचौँ स्थानमा क्यानाडा (२० खेलबाट २० अंक), छैटौँ स्थानमा नामिबिया (२० खेलबाट १४ अंक) र आठौँ स्थानमा संयुक्त अरब इमिरेट्स (१६ खेलबाट ६ अंक) छन्।
नेपालले अब आइतबार स्कटल्यान्ड र मंगलबार नेदरल्यान्ड्ससँग थप दुई खेल खेल्नेछ। त्यसपछि तीनवटै टोलीबीच टी-२० सिरिज पनि आयोजना हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ, जसमा उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल समावेश छन्। नेपाली टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल हुन् भने क्यानले भर्खरै दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकको भूमिकामा ज्ञानेन्द्र मल्ल रहेका छन्।






























