पोखरा ७, फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकास शैली पूर्ण रूपमा बदल्ने प्रतिज्ञा गर्दै मधेस प्रदेशसँग नयाँ सम्बन्ध स्थापित गर्ने संकल्प व्यक्त गरेका छन् । उनले अब कांग्रेसले घोषणापत्र मात्र छापेर नपुगेको बताउँदै हरेक शब्द र अक्षरको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । सरकारमा होस् वा प्रतिपक्षमा कांग्रेसका सबै नेता र कार्यकर्ताले यो प्रतिज्ञालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने उनको जोड थियो । थापाले भने ‘कसैले लेखेको भाषण पढ्न म यहाँ आएको होइन सर्लाहीबाट काठमाडौं गएर आफैं टिमसँग बसेर एक-एक अक्षर केलाएर यो प्रतिज्ञापत्र तयार गरेको हुँ ।’

मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ-हानिभन्दा माथि उठाएर ‘बेटा र माटो’ को रूपमा व्याख्या गर्दै उनले भने ‘म यहाँ मधेसको नेता हुन होइन बेटा हुन आएको हुँ ।’ आफ्नो नसामा मधेसी आमाको रगत नभए पनि छातीमा दुर्गानन्द झाको साहस र आँखामा महेन्द्र नारायण निधिको सपना रहेको उनले भावुक भएर सुनाए । सिंहदरबार छिर्दा मधेसीले धोती-कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्न सक्ने वातावरण कांग्रेसले बनाउने उनको उद्घोष थियो । राजा जनकको सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामको धनुष विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको यात्रा अब प्रतिज्ञामा आधारित हुने बताए । ‘यो शक्तिको विजय होइन प्रतिज्ञाको विजय हो’ उनले भने ‘सरकारमा होस् वा सडकमा कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्दैन ।’

मधेसको खस्किँदो शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । पहिले पहाडका मानिसहरू गणित सिक्न मधेस आउँथे तर अहिले यहाँका विद्यालय कमजोर भएको उनको गुनासो थियो । स्वास्थ्य क्षेत्रमा ‘एक रुपैयाँ पनि तिर्नु नपर्ने’ बीमा प्रणालीको ग्यारेन्टी गरेका थापाले कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिन अन्त्य गर्ने संकल्प लिए । उखु र आलु किसानका समस्या नजिकबाट बुझेको बताउँदै उनले यो दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे । चार खर्बको कृषि आयात रोकेर आत्मनिर्भर बनाउने योजना पनि सुनाए । वैदेशिक रोजगारीमा रहेका युवालाई दूतावासमार्फत विशेष हेरचाह र फर्कंदा व्यवसायको मालिक बनाउने वातावरण तयार गर्ने उनको प्रतिबद्धता छ ।

कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै उनले ‘टिम नेपाल’ को अवधारणा ल्याए जसले कुशासन गरिबी र बेरोजगारीलाई हराउने छ । ३२ जना उम्मेदवारलाई घर-घर गएर ‘बदलिएको कांग्रेस’ को सन्देश दिन निर्देशन दिँदै उनले भने ‘नडराईकन भन्नुस् हामी यी काम गर्न आएका हौं मत दिनुस् सबैलाई भन्नुस् मतदाताको कुरा सुन्नुहोस् र प्रतिज्ञा सुनाउनुहोस् ।’ थापाको सम्बोधनले भावनात्मक अपील ऐतिहासिक सन्दर्भ र व्यावहारिक योजना मिश्रित गरेर मधेसमा विश्वास पुनर्जागरण गर्ने प्रयास गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0