पोखरा १३, चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएसँगै नेपालको स्वास्थ्य क्षेत्रले नयाँ नेतृत्व पाएको छ। लामो समयसम्म अस्पतालमा बिरामीको सेवा गर्दै आएकी मेहताले अब नीतिगत तहबाट स्वास्थ्य प्रणाली सुधार गर्ने जिम्मेवारी सम्हालेकी छन्। बिरामीको बेडछेउमा बसेर सेवा गर्ने हातले अब स्वास्थ्य नीतिको दिशा निर्धारण गर्ने अवस्था आउनुलाई धेरैले प्रतीकात्मक परिवर्तनका रूपमा हेरेका छन्।
सुनसरीको इनरुवामा हुर्किएकी २०४४ सालमा जन्मिएकी मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्। स्वास्थ्य क्षेत्रमा प्रवेश गरेपछि उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा करिब तीन वर्ष क्लिनिकल नर्सका रूपमा काम गरिन्। त्यहाँको अनुभवले उनलाई बिरामीको अवस्था, स्वास्थ्य सेवाको पहुँच र प्रणालीगत कमजोरीहरू नजिकबाट बुझ्ने अवसर दिएको थियो।
पछि उनी शिक्षण क्षेत्रमा प्रवेश गर्दै विराटनगरस्थित विराट मेडिकल कलेज मा नर्सिङ विषय अध्यापन गर्न थालिन्। लेक्चररका रूपमा काम गर्दै उनले स्वास्थ्य शिक्षा र जनशक्ति उत्पादनमा योगदान दिइन्। यसरी, व्यावहारिक सेवा र शैक्षिक क्षेत्रमा कामको अनुभवले उनलाई बहुआयामिक दृष्टिकोण प्रदान गरेको छ।
राजनीतिक यात्रामा मेहता रास्वपा स्थापना भएलगत्तै साधारण सदस्यका रूपमा जोडिएकी थिइन्। संगठनभित्र निरन्तर सक्रिय रहँदै उनी पछिल्लो चार वर्षदेखि केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी छन्। २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा परे पनि सांसद बन्न नसकेकी उनी निराश नभई थप सक्रिय भइन् र यसपटक स्वास्थ्य मन्त्रीको जिम्मेवारीसम्म पुग्न सफल भइन्।
स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा वर्षौं काम गरेकी मेहताले आफ्नो प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गरेकी छन्। उनले स्वास्थ्य नीति ऐनको पूर्ण कार्यान्वयन गर्दै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु हुने अवस्था अन्त्य गर्न आफू केन्द्रित रहने उनको भनाइ छ।
सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहँदै आएकी छन्। नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशमा प्रशासन सचिवका रूपमा काम गर्दा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिहरूमा उल्लेखनीय योगदान दिएकी छन्।
उनले मन्त्री पद सम्हाल्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘परिवर्तन गर्ने उद्देश्यले राजनीतिमा आएको हुँ, अब अवसर पाएको छु, आफ्नो क्षमता अनुसार काम गर्नेछु,’ उनले भनेकी छन्।
यसरी, स्वास्थ्य सेवा क्षेत्रबाट राजनीति हुँदै नीति निर्माणको तहसम्म पुगेकी मेहताको नेतृत्वलाई व्यवहारिक अनुभवमा आधारित सुधारको अवसरका रूपमा हेरिएको छ। आगामी दिनमा उनले स्वास्थ्य सेवा प्रणालीलाई कति प्रभावकारी र पहुँचयोग्य बनाउन सक्छिन् भन्नेमा व्यापक चासो देखिएको छ।































