पोखरा ७, फागुन । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अब केवल १४ दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन र स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । यो कार्यविधि मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ मा प्रदत्त अधिकारको प्रयोग गरी तयार पारिएको हो ।
कार्यविधिमा व्यवस्था भएअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । आवश्यकता अनुसार यो सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट पनि प्रकाशन तथा प्रसारण गर्न सकिने प्रावधान राखिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारीहरू, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदीहरू, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरिएको छ ।
यसैगरी कुनै व्यक्तिको नाम छुटेको वा मतदाताको नाम वा विवरणमा कुनै त्रुटि देखिएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ । यस्तो व्यवस्थाले मतदाता नामावलीलाई थप शुद्ध र समावेशी बनाउने अपेक्षा गरिएको छ । आगामी निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउन यो कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।































