पोखरा १, फागुन । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत बिहीबार राति भएको समूह ‘ए’को रोमाञ्चक भिडन्तमा आयोजक भारतले नामिबियालाई ९३ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। २१० रनको लक्ष्य पछ्याएको नामिबिया भारतीय बलरहरूको सटिक बलिङसामु निरिह बन्दै १८ ओभर २ बलमा मात्र ११६ रनमा समेटिएपछि भारतले विश्वकप इतिहासकै आफ्नो एक ठूलो अन्तरको जित सुनिश्चित गर्यो।
भारतको इनिङ्समा ओपनर ईशान किशनले विस्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ६१ रनको योगदान दिए, जसमा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। मध्यक्रममा हार्दिक पाण्ड्याले २८ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दै भारतलाई २०० रनको आँकडा पार गराउन महत्त्वपूर्ण भूमिका खेले। त्यस्तै तिलक वर्माले २५ रन, शिवम दुबेले २३ रन र सन्जु सैमसनले २२ रन जोडे पनि कप्तान सूर्यकुमार यादव १२ रनमा र अक्षर पटेल शून्यमै आउट भएपछि भारतले अन्तिम ओभरहरूमा केही विकेट छिटो गुमाएको थियो। नामिबियाका कप्तान जेरार्ड इरास्मसले १९औँ ओभरमा लगातार तीन विकेट लिँदै कुल ४ विकेट लिएर भारतीय ब्याट्सम्यानलाई दबाबमा राख्ने प्रयास गरेका थिए।
जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाका लागि लोरेन स्टीनक्याम्पले सर्वाधिक २९ रन र जान फ्राइलिंकले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा उल्लेख्य रन जोड्न सकेनन्। भारतका लागि वरुण चक्रवर्तीले घातक बलिङ गर्दै मात्र ७ रन खर्चेर ३ विकेट लिए भने हार्दिक पाण्ड्या र अक्षर पटेलले समान २–२ विकेट हात पारे। यो सानदार जितसँगै भारत दुई खेलबाट ४ अंक जोड्दै राम्रो रनरेटका आधारमा समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अंक नै भए पनि पाकिस्तान दोस्रो स्थानमा रहेको छ। अब भारतले आफ्नो अर्को महत्त्वपूर्ण खेलमा आगामी आइतबार कोलम्बोमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ।































