पोखरा १, फागुन । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत शुक्रबार विभिन्न समूहका तीनवटा प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन् । प्रतियोगिताको समीकरण रोमाञ्चक बन्दै जाँदा शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’ का टोलीहरू मैदान उत्रन लागेका हुन् । दिनको पहिलो खेलमा समूह ‘बी’ को दाबेदार टोली अस्ट्रेलियाले जिम्बाबेको सामना गर्नेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरिसकेका छन् र आजको खेल जितेर दोस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छन् । यो खेल श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
त्यसैगरी, दोस्रो खेलमा समूह ‘डी’ का दुई एशोसिएट टोलीहरू क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुनेछ । भारतको नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् । यसअघि खेलिएका खेलमा हार व्यहोरेका दुवै राष्ट्रका लागि अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण हुनेछ । शुक्रबारको अन्तिम खेलमा समूह ‘ए’ का नेदरल्यान्ड्स र अमेरिका साँझ ७ बजेर १५ मिनेटमा चेन्नईको एम.ए. चिदम्बरम स्टेडियममा भिड्नेछन् । नेदरल्यान्ड्सले अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने अमेरिका प्रतियोगितामा पहिलो अंक जोड्ने दाउमा रहेको छ ।































