पोखरा २८, माघ। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले यसपटकको आफ्नो उम्मेदवारी संविधानको रक्षा र समयसापेक्ष परिमार्जनका लागि भएको स्पष्ट पार्नुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा मतदाताहरूसँग भेटघाटमा व्यस्त रहनुभएका कोइरालाले मोरङ-६ मा आफ्नो पल्ला भारी रहेको दाबी गर्दै विपक्षी उम्मेदवारहरूलाई कमजोर नठाने पनि उनीहरूको खासै चर्चा नरहेको बताउनुभयो । विराटनगरको मुख्य बजार जोडिएको यस क्षेत्रमा नेकपा एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका उपेन्द्र राय र रास्वपाकी रुबिना आचार्य चुनावी प्रतिस्पर्धामा भए तापनि कोइरालाले कांग्रेसको बलियो संगठन र इतिहास नै आफ्नो जितको मुख्य आधार भएको उल्लेख गर्नुभयो । विशेषगरी कांग्रेस सभापति गगन थापाले उहाँको टिकट रोक्ने आशंका गरिए पनि थापाकै सहमतिमा टिकट पाएको विषयले पार्टीभित्रको एकतालाई थप मजबुत बनाएको उहाँको तर्क छ ।
पार्टीको आन्तरिक राजनीतिका सन्दर्भमा चर्चा गर्दै कोइरालाले विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पुगेको विषयलाई आफूले सहज रूपमा स्विकारेको बताउनुभयो । यद्यपि, निर्वाचन अगाडि नै कसैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने शैलीलाई उहाँले ‘कम्युनिष्टहरूको नक्कल’ को संज्ञा दिनुभएको छ । कांग्रेसको विधान र लोकतान्त्रिक परम्पराअनुसार निर्वाचनपछि चुनिएर आउने सांसदहरूले संसदीय दलको नेता चयन गर्ने र सोही व्यक्ति नै प्रधानमन्त्रीको उम्मेदवार हुने प्रावधान रहेको उहाँले स्मरण गराउनुभयो । लोकप्रियताका लागि गरिने यस्ता प्रचारबाजीले संसदीय व्यवस्थाको मर्ममा प्रहार गर्ने उहाँको ठहर छ । वर्तमान निर्वाचन प्रणालीअनुसार कुनै पनि एउटै दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने यथार्थलाई स्वीकार गर्दै कोइरालाले बहुमतको दाबीलाई ‘फुर्सदको प्रचार’ मात्र भएको टिप्पणी गर्नुभयो ।
आफ्नो व्यक्तिगत आकांक्षाका बारेमा सोधिएको प्रश्नमा कोइरालाले आफू पदका लागि हल्ला गरेर हिँड्ने व्यक्ति नभएको तर समय र परिस्थितिले दिने जिम्मेवारी बहन गर्न सक्षम रहेको बताउनुभयो । उहाँले नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जालको स्टन्टले मात्र देश नचल्ने र संकटको समयमा छिमेकी र पुरानो संगठन नै काम आउने धारणा राख्नुभयो । विशेषगरी विदेशमा रहेका छोराछोरीको लहैलहैमा लागेर भोट नहाल्न र आफ्ना दुःखसुखमा साथ दिने उम्मेदवारलाई चिन्न उहाँले आम मतदातालाई अपिल गर्नुभयो । आगामी संसद्ले संविधान संशोधन र निर्वाचन प्रणाली सुधारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने र त्यसका लागि नेपाली कांग्रेस नै सबैभन्दा योग्य दल भएको उहाँको निष्कर्ष छ ।































