पोखरा १०, पौष। कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव सातौँ दिनसम्म आइपुग्दा दर्शकहरूको उल्लेख्य उपस्थितिसँगै आर्थिक गतिविधिमा तीव्र वृद्धि देखिएको छ। महोत्सवको रौनक बढेसँगै विशेषगरी स्थानीय कृषि उत्पादन र प्राकृतिक जडीबुटीको व्यापार गर्ने स्टल सञ्चालकहरू निकै उत्साहित देखिएका छन्। उपभोक्ताहरूले बजारका प्रशोधित सामग्रीभन्दा स्थानीय जैविक उत्पादन, जडीबुटी, खाद्यान्न र ताजा माछामा बढी चासो देखाउन थालेका छन्। मुस्ताङको चाहेर गाउँपालिकाबाट पहिलोपटक महोत्सवमा सहभागी भएकी ५० वर्षीया पासाङ आयोले आफ्नो स्टलबाट जिम्बु, टिमुर र विरेनुन जस्ता प्राकृतिक सामग्री बिक्री गरेर दैनिक १५ हजार रुपैयाँसम्मको कारोबार गरिरहेको बताइन्।
त्यसैगरी, २१ वर्षदेखि निरन्तर सहभागी हुँदै आएका शीतल जडीबुटीका सञ्चालक वैद्य जयबहादुर थापाले यस वर्ष पनि जडीबुटीको व्यापार लाखौँमा पुगेको जानकारी दिए। महिला ग्राहकहरूले विशेषगरी कुरिलोको जरा र हर्रो–बर्रो जस्ता स्वास्थ्यवर्द्धक जैविक सामग्री खरिद गर्न रुचि देखाएको उनले बताए। कृषि र जडीबुटी बाहेक स्थानीय खाद्यान्न र माछाको व्यापार पनि उत्तिकै फस्टाएको छ। बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीले स्थानीय ताजा माछाको बिक्रीबाट मात्रै दैनिक ६० हजार रुपैयाँ हाराहारीको कारोबार भइरहेको उल्लेख गरे। महोत्सवले स्थानीय उत्पादकलाई सिधै उपभोक्तासँग जोड्ने र स्वदेशी उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।































