पोखरा १०, पौष। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालले विश्वका विभिन्न १० मुलुकमा ३ लाख १४ हजार ३ सय ११ किलो अर्थात् करिब ३ सय १४ टन चिउरा निर्यात गर्न सफल भएको हो। नेपाली चिउराको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै जाँदा यस क्षेत्रबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुन थालेको देखिएको छ। विशेषगरी विदेशमा रहेका नेपालीहरूको बाक्लो उपस्थिति र स्थानीयस्तरमा समेत नेपाली खाजाको लोकप्रियताका कारण चिउरा निर्यातमा वृद्धि भएको विश्लेषण गरिएको छ।

तथ्यांक अनुसार नेपाली चिउराको सबैभन्दा ठूलो बजार अस्ट्रेलिया बनेको छ। समीक्षा अवधिमा अस्ट्रेलियामा मात्रै ७ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ लाख ४४ हजार ६ सय ३२ किलो चिउरा निर्यात भएको छ। यो कुल निर्यातको ठूलो हिस्सा हो। अस्ट्रेलियापछि इटाली दोस्रो मुख्य गन्तव्य बनेको छ, जहाँ १ करोड ६४ लाख ९ हजार रुपैयाँको चिउरा पठाइएको छ। यस्तै, अमेरिकामा १ करोड ३० लाख ७२ हजार र क्यानडामा १ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको विभागको प्रतिवेदनमा उल्लेख छ। यसले नेपाली मौलिक उत्पादनको पहुँच युरोप र अमेरिकाका विकसित मुलुकहरूसम्म बलियो बन्दै गएको संकेत गर्दछ।

एसियाली मुलुकहरूमा जापान नेपाली चिउराको राम्रो बजारका रूपमा उदायको छ। पाँच महिनामा जापानमा ३५ हजार ८ सय ८० किलो चिउरा निर्यात हुँदा नेपालले ५१ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, पोल्यान्डमा ४८ लाख ७९ हजार र संयुक्त अरब इमिरेट्स (यूएई) मा २२ लाख ६३ हजार रुपैयाँको चिउरा निर्यात भएको छ। विभागका अनुसार निर्यात भएका अन्य देशहरूमा पनि नेपाली चिउराको माग क्रमिक रूपमा बढिरहेको छ। स्वदेशी कच्चा पदार्थमा आधारित यस्ता कृषिजन्य उत्पादनको निर्यात वृद्धिले व्यापार घाटा कम गर्न र ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0