पोखरा ११, मंसिर। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ ‘महोत्सवको पनि महोत्सव’ भनेर चिनिने २१औँ लेखनाथ महोत्सवको तयारी सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य सङ्घले आगामी पुस ३ गते देखि १४ गतेसम्म पोखरा २७ को तालचोकमा महोत्सव आयोजना गर्ने जनाएको छ। आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले आइतबार पत्रकार सम्मेलन गरेर महोत्सवको पहिलो चरणको तयारीबारे जानकारी दिएको हो। यो महोत्सव लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश एवं नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सह-आयोजनामा हुन लागेको हो।

पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले ‘जेनजी’ आन्दोलनपछि खस्किएको निजी क्षेत्रको मनोबल उच्च बनाउन र विषम आर्थिक परिवेशमा निराश बनेका उद्योगी व्यवसायी, क्रेता बिक्रेता र उपभोक्तालाई राहत महसुस गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा आयोजना गर्दै आएको र यसले विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उनको भनाई छ। उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने जानकारी दिइन्।

यस वर्षको महोत्सवमा कुल ३३५ वटा स्टल रहनेछन्। तीमध्ये अटो प्रदर्शनी ६ वटा, शैक्षिक ग्रामीण प्रविधि प्रदर्शनी ८ वटा, कृषि प्रदर्शनी ३४, किचन सामाग्री २७, मेसिनरी ८, हस्तकला प्रदर्शनी १८, गार्मेन्ट तथा रेडिमेट १२२, जनरल ३४, फुड एण्ड बेभरेज प्रदर्शनी १४, डेरी प्रदर्शनी १०, नेपाली उत्पादन प्रदर्शनी १२, खाना महोत्सव १५, बैङ्क तथा वित्तिय सङ्घसंस्था तथा प्रायोजक अन्तर्गत २७ स्टल रहने लेखनाथ उद्योग वाणिज्य सङ्घका द्वित्तीय उपाध्यक्ष एवं २१ औँ लेखनाथ महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार, सदस्यहरूका लागि मङ्सिर ८ गतेबाट स्टल बुकिङ खुला हुनेछ भने अन्य व्यवसायीहरूका लागि मङ्सिर १५ गते देखि बुकिङ खुला गरिने छ। लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्यहरूलाई स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु २ हजार रकम छुट उपलब्ध गराइनेछ। उहाँले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सव आयोजना गर्नु चुनौतिपूर्ण रहेको बताउँदै व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे।

महोत्सवमा विगतका वर्षहरुझैँ औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न, फेन्सी, कस्मेटिक तथा श्रृंगार, विद्युतीय उपकरण, फर्निचर, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक सङ्घ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन्। यस वर्ष थप आकर्षणको रुपमा शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम, विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनी, टिकटक तथा कन्टेन्ट क्रिएशन प्रतियोगिता, पप कन्सर्ट र लाइभ ब्याण्ड, राष्ट्रिय स्तरका कलाकारहरुवाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य कार्यक्रम रहेका छन्।

यस वर्ष गृहलक्ष्मी ग्यास कम्पनी प्रालि महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको छ। प्रालिका महाप्रबन्धक भिमराज लामिछानेले नाफा कमाउने भन्दा पनि मानिसहरूलाई एलपीजी ग्यासको प्रयोगबारे सचेत गराउने उद्देश्यले महोत्सवसँग सहकार्य गरिएको बताए। आयोजकको अनुमान अनुसार, महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई १० लाख रूपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ, जसलाई नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औद्योगिक क्षेत्र निर्माण र पर्यटन प्रवर्द्धनमा खर्च गरिने छ। महोत्सव प्रवेश टिकट दरः विद्यार्थीका लागि रु ५०, सर्वसाधारणका लागि रु १०० र कन्सर्टका लागि रु २ सय कायम गरिएको छ। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0