पोखरा, १० असार। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउँदो असार १४ गते एउटै मञ्चमा देखिन लागेका छन्। केही समययता उनीहरूबीचको सम्बन्ध चिसिएको चर्चा भइरहँदा उनीहरू एउटै सार्वजनिक कार्यक्रममा सहकार्य गर्न लागेको खबरले राजनीतिक वृत्तमा व्यापक चासो र कौतुहलता जगाएको छ।
उक्त अवसर मदन भण्डारी फाउन्डेसनले जुराएको हो। ‘जबजका ३ दशक’ शीर्षकमा आयोजना हुने राष्ट्रिय गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा ओली र भण्डारी दुबैले सम्बोधन गर्ने कार्यक्रम तय भएको फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिइन्। कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा दिउँसो १ः३० बजे सुरु हुनेछ।
ओली स्वयं फाउन्डेसनका संरक्षक हुन् भने विद्या भण्डारी दिवंगत नेतृ मदन भण्डारीकी धर्मपत्नी तथा पूर्वराष्ट्रपति हुन्। उनी एमालेको उपाध्यक्ष हुँदै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। विगत केही समयदेखि विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनः सक्रिय हुने सम्भावनाबारे चर्चा चलिरहेका बेला यो सहमिलनले राजनीतिक संकेतको रूपमा पनि हेरिएको छ।
पछिल्लो समयमा पार्टीभित्र आन्तरिक दूरी बढ्दै गएको भनिएको अवस्थामा उनीहरूबीच सार्वजनिक सहकार्यले आगामी पार्टीको रणनीति, नेतृत्व संरचना र ‘जबज’ को वैचारिक व्याख्यामा नयाँ धार ल्याउने अपेक्षा गरिएको छ। यसअघि पनि दुबै नेताबीच केहीपटक भेटवार्ता भएको थियो, तर उनीहरू एउटै मञ्चमा औपचारिक रूपमा नदेखिएका कारण यो कार्यक्रम विशेष बनेको छ।
कार्यक्रमले ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई तीन दशकको मूल्यांकनसहित पुनः बहसमा ल्याउने अपेक्षा गरिएको छ। यस्तै, मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि सोही कार्यक्रममा प्रदान गरिनेछ। फाउन्डेसनले राजनीतिक, सामाजिक र वैचारिक योगदान दिने व्यक्तित्वलाई यस वर्ष सम्मान गर्ने तयारी गरेको जनाएको छ।
ओली र भण्डारीको एउटै मञ्च उपस्थितिले केवल वैचारिक विमर्श मात्रै होइन, पार्टीभित्रको समन्वय र भावी राजनीतिक समीकरणका सन्देशहरू पनि दिनसक्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्।































