पोखरा, ६ असार। सामाजिक सञ्जालमार्फत ‘पागल बनाउने अफर’ भन्दै चर्चामा आएको जिग्री सेकुवा सामाजिक सञ्जाल प्रयोगकर्तालाई झुक्याउने कार्यमा मुछिएको देखिएको छ। थ्रि ब्रदर्स सेकुवा घर एण्ड बार प्रा.लीद्वारा सञ्चालित जिग्री सेकुवाले फेसबुक र इन्स्टाग्राममार्फत प्रचार गरेको ‘फ्राई राइस, चाउमिन र मःमः केवल ९९ मा’ भन्ने लन्च अफर वास्तविकता भन्दा टाढा रहेको खुलेको हो।
पोखरा सिमलचौरकी सदिक्षा अधिकारी नामकी एक ग्राहकले सामाजिक सञ्जालमा देखिएको अफरका आधारमा जिग्री सेकुवाको पोखरा, बिरौटा स्थित आउटलेटमा गई मःमः अर्डर गरेपछि २२५ रुपैयाँ तिर्नुपरेको अनुभव साझा गरेकी छिन्। “९९ मा मःमः पाइन्छ भन्ने देखेर खुशी हुँदै पुगेकी थिएँ, तर बिलमा पानीको शुल्कसहित २७५ लाग्यो,” उनले भनिन्। उनी भन्छिन्, “धेरै पैसा थिएन तर केही थियो, नत्र झन् समस्या हुने थियो।”
यस्तै गुनासोपछि भर्खर खबरको टोलीले पनि सोही आउटलेटमा गई आफैं मःमः अर्डर गरी परीक्षण गर्दा, विज्ञापनमा उल्लेखित मूल्य भन्दा झण्डै तीन गुणा बढी रकम बिलमा आएको पाइएको छ। यसबारेमा आउटलेटका म्यानेजर प्रसन रसाईलीसँग बुझ्दा उनले उक्त अफर आफ्नो आउटलेटको लागि नभएको दाबी गरे पनि, सामाजिक सञ्जालमा प्रचार गरिएको शाखा यही रहेको स्वीकार गरे। यद्यपि अफर किन लागू नगरिएको भन्ने प्रश्नमा उनी स्पष्ट जवाफ दिन सकेनन्।
यो घटनाले उपभोक्तालाई भ्रममा पार्दै व्यवसाय विस्तार गर्ने प्रवृत्तिले सामाजिक सञ्जालमा गलत प्रचार गरेर ग्राहकसँग ठगी भइरहेको गम्भीर प्रश्न खडा गरेको छ। ‘फ्रड’ शैलीको यस्तो प्रचारप्रति नियमनकारी निकायले पनि चासो दिन आवश्यक देखिएको छ।
































