पोखरा, २२ जेठ। काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राजावादी समूहहरू अब आफ्नो अभियानलाई देशभरका जिल्लाहरूमा विस्तार गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी आन्दोलन काठमाडौँका विभिन्न पालिकामा जारी राख्दै ७७ वटै जिल्लामा केन्द्रित हुने जानकारी दिएका छन्।
सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो। उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो। बैठकमा सहभागीहरूको उत्साह प्रशंसनीय रहेको थियो।” बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा हार्दिक आभार प्रकट गरेको सुवेदीले बताए।
बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले आगामी कार्यक्रमहरूमा केही परिमार्जन गर्ने निर्णय गरेको छ। यसअन्तर्गत, पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई आधार मानी आन्दोलनको स्वरुपमा परिवर्तन गरिनेछ। काठमाडौँ उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनहरू निरन्तर जारी रहनेछन्। काठमाडौँका अतिरिक्त देशका विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। आन्दोलनलाई अझ सशक्त, प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ। देशका विभिन्न जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार पारिनेछ। अन्ततः, देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गरिने योजना रहेको सुवेदीले जानकारी दिए।
यद्यपि, बुधबार दिउँसो धुम्बाराहीको नवदुर्गा पार्टी प्यालेसमा आयोजित राजावादी आन्दोलनका अगुवाहरूको बैठक भने निकै होहल्लापूर्ण रह्यो। आगामी दिनमा राजसंस्था फर्काउने आन्दोलन कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेर ठोस निचोड निकाल्ने उद्देश्यले डाकिएको उक्त बैठकमा तनावको स्थिति सिर्जना भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा उपस्थित नभएपछि उग्र राजावादी युवाहरूले कार्यक्रममै प्रश्न गरे– “संसद चाहिएको कि राजसंस्था?”
बैठकमा कमल थापाले बोल्न लाग्दा हुटिङ सुरु भयो र नवराज सुवेदीले माइक हातमा लिएर बैठक सकिएको जानकारी दिए। लगत्तै, युवा पुस्ताका राजावादीहरूले “अब बूढाबाट पार लाग्दैन” भन्दै छुट्टै बैठक आयोजना गरेको बताइएको छ। आन्दोलनमा सहभागी ४५ घटकका नेताहरू मात्र कार्यक्रममा सहभागी हुने भनिए पनि, आन्दोलनकारी जत्थासमेत त्यहाँ प्रवेश गर्यो र नेताहरूलाई “भाषण हैन, आन्दोलनमा लागौं” भन्दै होहल्ला मच्चाएको सहभागी एक नेताले बताए। बैठकमा प्रवेश गरेका पत्रकार एवं युट्युबरहरूलाई सम्बोधन गर्दै स्वागत नेपालले “मिडियाकर्मी साथीहरू बाहिर गइदिनुहोला, यो हाम्रो आन्तरिक छलफल हो” भन्दै आग्रह गरे। तर, मिडियाकर्मीहरू उल्टै त्यहाँको भनाभनको भिडियो खिच्नतिर लागेपछि कार्यकर्ताले मिडियाकर्मीलाई बाहिर जान भन्दै हप्काएको सुनिएको थियो।
कार्यक्रममा सहभागी धर्मगुरु श्रीनिवासले हिन्दु धर्मले अनुशासित हुन सिकाउने बताउँदै सबैलाई शान्त र अनुशासित भइदिन आग्रह गरे। तर, उनको आग्रह राजावादीहरूले नै मानेनन् र कमल थापा बोल्ने बेलामा भीडले अझ होहल्ला बढायो। त्यस लगत्तै “हामी सल्लाह गरेर कार्यक्रम तय गर्छौं” भन्दै बैठक समापन भएको घोषणा गरियो।
अन्ततः, बुधबार साँझ सुवेदीले एकतर्फी रूपमा जिल्ला केन्द्रित हुने कार्यक्रम घोषणा गरे। तर, यसमा राप्रपाको सहमति वा असहमति के छ भन्ने प्रष्ट भएको छैन। नवराज सुवेदी निकट एक राजावादी अभियन्ताले खबरहबसँग भने, “बुधबार पार्टी प्यालेसमा आन्दोलनकारीबीच झगडा भएको होइन, ४५ जना मात्रै बस्ने बैठकमा अरू पनि छिरेपछि विषयकेन्द्रित छलफल हुन नपाएको मात्र हो। यस्तो ‘क्लोज मिटिङ’ पार्टी प्यालेसको हलमा गर्नुको सट्टा राप्रपाको कार्यालय वा अन्त कुनै बन्द कोठामा गरेको भए यस्तो हुने थिएन।” यस घटनाले राजावादी आन्दोलनभित्रको आन्तरिक कलह र रणनीतिक असहमतिलाई उजागर गरेको छ।





























