पोखरा १९, फागुन । मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिका कारण त्यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरू गम्भीर त्रासमा परेका छन् । मंगलबार नेपाली समय अनुसार बिहान ४ बजेतिर संयुक्त अरब इमिरेट्सको आबुदाबी नजिकैको आकाशमा निरन्तर विस्फोटका आवाजहरू सुनिएपछि त्यहाँ कार्यरत नेपालीहरूमा अन्योल र भय सिर्जना भएको हो । इरानले सुरु गरेको आक्रमणको सिलसिला र मध्यपूर्वमा जारी द्वन्द्वका बीच कतारको राजधानी दोहातर्फ पनि निरन्तर प्रहार भइरहेको बुझिएको छ । विशेष गरी नेपालीहरूको बाक्लो उपस्थिति रहेको हमिम सिटी लगायतका क्षेत्रमा रहेका युवाहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै सहयोगका लागि अपिल गरेका छन् । सिन्धुपाल्चोकका प्रमोद चौलागाईंले अनलाइनखबरसँगको सम्पर्कमा मोबाइलमा निरन्तर खतराको अलर्ट आइरहेको र कहाँ जाने भन्ने विषयमा अन्योल भएको बताएका छन् । उनले विषम परिस्थितिमा राज्यले दुबई लगायतका देशमा रहेका आफ्ना नागरिकहरूको तत्काल उद्धार गर्नुपर्ने माग समेत राखेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठूला विस्फोटका आवाज गुन्जिएका थिए । इरानमाथि भइरहेको सैन्य आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको खबरले यस क्षेत्रको सुरक्षा स्थिति चरम संकटमा पुगेको विश्लेषण गरिएको छ । यद्यपि, यी विस्फोटहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण भने प्राप्त भइसकेको छैन । मध्यपूर्वका प्रमुख सहरहरूमा त्रासको वातावरण फैलिएपछि अमेरिकी विदेश मन्त्रालयले समेत आफ्ना नागरिकहरूलाई सो क्षेत्रका एक दर्जनभन्दा बढी देशहरू तत्काल छोड्न कडा चेतावनीयुक्त सूचना जारी गरिसकेको छ । यस घटनाले वैदेशिक रोजगारीका लागि त्यस क्षेत्रमा रहेका लाखौं नेपालीको सुरक्षामा ठूलो प्रश्नचिह्न खडा गरेको छ । द्वन्द्वको चपेटामा परेका नेपालीहरूले सुरक्षित स्थानको खोजी गरिरहेका छन् भने कतिपयले स्वदेश फिर्तीका लागि कुटनीतिक पहलको आशा गरिरहेका छन् ।































