पोखरा ७, फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता-पत्र जनतामाझ ल्याएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार १० वटा भिजनसहितको यो महत्वपूर्ण दस्तावेज सार्वजनिक गरिएको हो । पार्टी सभापति गगनकुमार थापा उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा उपसभापति पुष्पा भुसाल मधेस प्रदेश सभापतिसहितका नेताहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भयो ।
प्रतिवद्धता-पत्र सार्वजनिक भएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले १० भिजनका बुँदाहरूबारे विस्तृत जानकारी गराए । कांग्रेसले आम निर्वाचनबाट बहुमत प्राप्त गरेर लोकतान्त्रिक मूल्य र लोकहितप्रति समर्पित सरकार गठन गर्ने लक्ष्य राखेको छ । चालिसेले दाबी गरे कि यो प्रतिवद्धता-पत्रमा जिम्मेवारी दृष्टिकोण र संकल्पको गहिरो आत्मबोध छ जसले नेपाललाई संसारकै उत्कृष्ट देश बनाउने भावना कार्ययोजना र आधार प्रस्तुत गरेको छ । उनले भने कि हरेक अक्षरमा प्रष्ट अर्थ छ र कार्यान्वयनकै आधारमा पार्टी नेतृत्व तथा कार्यकर्ताको मूल्यांकन हुनुपर्छ भन्ने चाहना कांग्रेसको रहेको छ ।
प्रतिवद्धता-पत्रले सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको यात्रालाई जोड दिएको छ । यो केवल देखावटी होइन बरु व्यवहारमा उतारेर समुन्नत नेपाल र सम्मानित नेपालीको नारा साकार पार्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ । चालिसेले भने ‘कांग्रेसले यति मात्र चाहन्छ कि मतदाता र जनताले आगामी दिनमा प्रतिवद्धता-पत्रको कार्यान्वयनकै आधारमा हाम्रो मूल्यांकन गर्नुहोस् हामी अमुक-अर्मूत कारण देखाएर जिम्मेवारीबाट भाग्दैनौं ।’ यो प्रतिवद्धता-पत्रलाई सरल भाषामा ‘भिजन टेन’ को रूपमा प्रस्तुत गरिएको छ जसलाई कांग्रेसले ‘कांग्रेस टु प्वाइन्ट जिरो’ को जगका रूपमा व्याख्या गरेको छ । पुनरुत्थानमा सफल भएको कांग्रेसले अब जनताको इच्छित भविष्य साकार पार्ने संकल्प बोकेको छ ।
कांग्रेसको १० भिजनमा समेटिएका छन् पहिलो सम्मानित भएर बाँच्न पाउने नेपाल दोस्रो सपना देख्न सक्ने नेपाल तेस्रो सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल चौथो पेटभरि खुवाउने र देश चिनाउने किसानको नेपाल पाँचौं ओखती र ओत दिने नेपाल छैटौं छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल सातौं बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल आठौं मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल नवौं विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र दसौं समुन्नतिमा लम्किने नेपाल । यी बुँदाहरूले जनताको आधारभूत आवश्यकतादेखि राष्ट्रिय गौरव र दीर्घकालीन विकाससम्मलाई समेटेका छन् । पार्टीले यो प्रतिवद्धता-पत्रले मतदातामा सकारात्मक प्रभाव पार्ने र जवाफदेही शासनको अपेक्षा राख्ने नागरिकको मन जित्ने विश्वास व्यक्त गरेको छ ।


































