पोखरा ५, फागुन । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज मंगलबार जननिर्वाचित नयाँ सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान आज बंगलादेशको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । यससँगै नोवेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दैछ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति राष्ट्रका नाममा बिदाइ भाषण गर्दै आफ्नो पद त्यागको घोषणा गरेका थिए, जसले नयाँ लोकतान्त्रिक सरकार गठनका लागि मार्गप्रशस्त गरेको छ ।
गत १२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जित्दै दुईतिहाइ बहुमत हासिल गरेको थियो भने जमात–ए–इस्लामी गठबन्धनले ७७ सिटमा विजय प्राप्त गरेको थियो । बीएनपीका अनुसार अध्यक्ष तारिक रहमानले आज अपराह्न ४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ । सोही समारोहमा मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिनेछन् । यसैगरी, नवनिर्वाचित संसद् सदस्यहरूको शपथ ग्रहण समारोह पनि आजै बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा मुख्य निर्वाचन आयुक्तद्वारा सम्पन्न गरिने कार्यक्रम रहेको छ । यस राजनीतिक परिवर्तनले बंगलादेशमा पुनः जननिर्वाचित शासन व्यवस्थाको सुरुवात गरेको छ ।


































