पोखरा ४, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज फागुन ४ गतेदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार सुरु भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन र प्रसारण गर्न पाइने व्यवस्था रहेकाले आजदेखि दल तथा उम्मेदवारहरू चुनावी मैदानमा होमिएका हुन्। यो प्रचारप्रसारको अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ। निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गर्दै मतदातासमक्ष औपचारिक रुपमा मत माग्न पाउने बाटो खुला गरेको हो।

निर्वाचनका क्रममा दल र उम्मेदवारले तोकिएको मापदण्ड पालना गर्दै पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत पनि प्रचार गर्न सक्नेछन्। यद्यपि, आमसभा र कोणसभाका लागि मञ्च निर्माणमा भएको खर्चको विवरण उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ। आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्नेदेखि उम्मेदवारी खारेजीसम्मको कानुनी कारबाही हुन सक्ने चेतावनी दिइएको छ। साथै, सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन निषेध गर्दै स्वच्छ निर्वाचनको वातावरण निर्माणमा आयोगले विशेष निगरानी बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0