पोखरा १, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका तिलक रानाभाटले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै मतदाता रिझाउन घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। यसअघि नै मादी र रूपा गाउँपालिकाका सम्पूर्ण वडाहरूमा मतदाता भेटघाट सम्पन्न गरिसकेका रानाभाटले अहिले आफ्नो ध्यान लेखनाथ क्षेत्रमा केन्द्रित गरेका छन्। घरदैलोका क्रममा उनले जनताका माग र आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आफू केवल योजना सुनाउन मात्र नभई जनताका सुझाव संकलन गर्न गाउँबस्तीमा पुगेको बताएका छन्।

भेटघाटका क्रममा रानाभाटले मतदाताहरूबाट निकै उत्साहजनक प्रतिक्रिया र सुझावहरू प्राप्त भइरहेको दाबी गरेका छन्। “म यो गर्छु र त्यो गर्छु भन्नुभन्दा पनि जनताले के खोजेका छन् भन्ने बुझेर उनीहरूकै मागअनुसार अघि बढ्नु मेरो प्राथमिकता हो,” उनले चुनावी अभियानका क्रममा भनेका छन्। रानाभाटको चुनावी दौडलाई बल पुर्‍याउन कांग्रेसका विभिन्न वडाहरूले पनि आ–आफ्नो स्तरबाट प्रचारप्रसारका कार्यहरूलाई व्यापक बनाइरहेका छन्।

यसैबीच, निर्वाचनलाई लक्षित गरी पोखरा–३१ मा नेपाल महिला संघको आयोजनामा एक भव्य महिला भेला सम्पन्न भएको छ। आगामी निर्वाचनमा महिलाहरूको सक्रिय सहभागिता र संगठन विस्तारका विषयमा केन्द्रित सो भेलामा कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश कोषाध्यक्ष मित्रलाल सापकोटा लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै महिला सशक्तीकरण र निर्वाचनमा उनीहरूको भूमिकाका बारेमा चर्चा गरेका थिए। सुधा थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा कांग्रेसको पक्षमा चुनावी माहोल बनाउन थप सहयोग पुर्‍याएको नेताहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0