पोखरा १, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका म्याग्दीका छोरा एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको स्वतन्त्र उम्मेदवारीले यसपटकको प्रतिस्पर्धालाई निकै रोचक बनाएको छ। माघ ६ गते दलबलविना नै साधारण झोला बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका पुन अहिले ‘त्रिभुज’ चुनाव चिह्न लिएर म्याग्देली मतदाताका घरदैलोमा पुगिरहेका छन्। ग्रामीण विकास र प्रविधिको क्षेत्रमा विश्वमै चिनिएका पुनलाई आफ्नो गाउँमा उम्मेदवारका रूपमा पाउँदा मतदातामा उत्साह देखिएको छ भने परम्परागत राजनीतिक दलहरूमा आफ्नो मत जोगाउने चुनौती थपिएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक पुनसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी र नेकपाका अर्जुनबहादुर थापा जस्ता स्थापित अनुहारहरूसँग पुनको प्रतिस्पर्धा हुँदैछ। विगतका निर्वाचनहरूमा एमाले र कांग्रेसको बलियो पकड रहेको यस जिल्लामा यसपटक ‘जेन-जी’ पुस्ताको मत र पुराना दलप्रति रहेको चरम असन्तुष्टिलाई पुनले आफ्नो पक्षमा पार्न सक्ने विश्लेषण गरिएको छ। अन्नपूर्ण गाउँपालिकाको नाँगीमा जन्मिएका पुनले सहरी क्षेत्रको साटो आफ्नै जन्मथलो रोज्नुले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ। यद्यपि, दलीय संरचना र संगठन नभएका कारण पुनका लागि ठूला दलका ‘क्याडर’ मत खोसेर जित निकाल्न सहज भने देखिँदैन।

म्याग्दीमा ८६ हजार ३ सय ९७ मतदाता रहेका छन्, जसमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी छ। जिल्लाका ८२ मतदान स्थल र १२० मतदान केन्द्रहरूमा निर्वाचनको तयारी तीव्र पारिएको छ। निर्वाचन नजिकिँदै गर्दा दलीय अंकगणित र स्वतन्त्रको लहरबीच कसको पल्ला भारी होला भन्ने बहस चिया पसलदेखि सामाजिक सञ्जालसम्म व्याप्त छ। सत्तामा रहँदा भएका काम र नागरिकका अपेक्षाबीचको खाडललाई पुनले चुनावी मुद्दा बनाएका छन् भने दलहरूले आफ्नो ऐतिहासिक विरासत र विकासका कामलाई अघि सारेका छन्। फागुन २१ को नतिजाले म्याग्दीमा परम्परागत राजनीतिको निरन्तरता हुन्छ वा नयाँ विकल्पको उदय, त्यसको फैसला गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0