पोखरा २८, माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ दाहालले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक निर्णयविरुद्ध लाग्ने कसैलाई पनि क्षम्य नहुने चेतावनी दिनुभएको छ। बुधबार काठमाडौंमा आयोजित सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई धोका दिएर बागी उम्मेदवारी दिने र निर्वाचन सकिएपछि पुनः पार्टीमा फर्कन्छु भन्ने सोच्नेहरूका लागि ढोका बन्द रहने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनका समयमा पार्टीलाई घात गर्ने कार्यलाई राजनीतिक अपराधको रूपमा व्याख्या गर्दै अनुसासनहीनतालाई पार्टीले कदापि स्वीकार नगर्ने बताउनुभयो।
विशेषगरी सिन्धुली–२ मा पार्टीको तल्लो तहको सिफारिस र नेतृत्वको निर्णयबमोजिम आफूले उम्मेदवारी दर्ता गरेको स्मरण गराउँदै नेता दाहालले यस प्रक्रियामा आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभयो। उहाँले सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरू महेश्वर दाहाल र हरिबोल गजुरेलसँग सहमतिका लागि आफूले पटक–पटक प्रयास गरेको खुलासा गर्नुभयो। “मैले हरिबोलजीलाई सहमतिका लागि धेरै पटक आग्रह गरेँ, तर उहाँले मान्नुभएन,” दाहालले भन्नुभयो। यद्यपि, अझै पनि समय बाँकी रहेकाले आफ्ना कमजोरी सच्याएर पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न उहाँले बागी उम्मेदवारहरूलाई आह्वान गर्नुभयो।
कार्यक्रममा बोल्दै नेता दाहालले विगतका सरकारहरूको गलत कार्यशैली र नीतिका कारण मुलुक आर्थिक तथा राजनीतिक रूपमा थिलथिलो भएको टिप्पणी गर्नुभयो। उहाँले तिनै पुराना र असफल अनुहारहरूलाई जनताले फेरि सरकारमा पुर्याउने गल्ती नगर्ने विश्वास व्यक्त गर्नुभयो। संविधानको व्यावहारिक कार्यान्वयन र नेकपाको प्रगतिशील विचारलाई मूर्त रूप दिन यसपटक संसद्मा नेकपाको स्पष्ट बहुमत आवश्यक रहेको उहाँको तर्क थियो। उहाँले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर चुनावी मैदानमा होमिन र विपक्षीका भ्रमहरू चिर्न समेत निर्देशन दिनुभएको छ।


































