पोखरा १६, माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालमा विगत ८५ वर्षमा पटक-पटक राजनीतिक व्यवस्था बदलिए पनि सत्ता सञ्चालनको चरित्र र प्रवृत्तिमा कुनै परिवर्तन नआएको टिप्पणी गर्नुभएको छ। शुक्रबार शहीद दिवसको अवसरमा ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता शाहले राणाशासनको अन्त्यका लागि हाँसी-हाँसी प्राण उत्सर्ग गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री जस्ता वीर सपुतहरूको बलिदानीको ८५ वर्ष पुग्दा पनि राज्य अझै वास्तविक रूपमा जनताको बन्न नसकेको गुनासो गर्नुभयो। उहाँले राणा शासन हटेको दशकौँ बितिसक्दा र विभिन्न आन्दोलनहरू सफल भए पनि सत्तामा बस्नेहरूको कार्यशैली उस्तै रहेको आरोप लगाउनुभयो।
बालेनले विगतका शहीदहरू मात्र नभई, हालैका वर्षहरूमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर भएका आन्दोलनहरूमा पनि नेपाली युवाहरूले बलिदान दिनुपरेको स्मरण गराउनुभयो। विशेषगरी गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनमा सुशासनका लागि शान्तिपूर्ण सडकमा उत्रिएका विद्यार्थी र युवाहरूले ज्यान गुमाउनु परेको घटनालाई जोड्दै उहाँले शहीदका सपना अझै अधुरा रहेको उल्लेख गर्नुभयो। पटक-पटक व्यवस्था फेरिए पनि राज्यका निकायहरूमा दलीयकरण र भ्रष्टाचारले जरा गाडेको भन्दै उहाँले अब शहीदका रगतको सम्मान गर्ने समय आएको बताउनुभयो।
अहिले आफूहरू शहीदका तिनै सपना पूरा गर्ने र नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउने लक्ष्यका साथ अगाडि बढेको दाबी गर्दै बालेनले भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त राज्य निर्माणका लागि आफू मन, वचन र कर्मले प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। उहाँले अबका दिनमा कुनै पनि नेपालीले हक र अधिकारका लागि शहीद बन्नु नपर्ने वातावरण सिर्जना गर्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गर्नुभयो। राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आफ्नो मुख्य दायित्व रहेको उल्लेख गर्दै उहाँले शहीदको बलिदानीलाई सार्थक बनाउन सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान समेत गर्नुभएको छ।































