पोखरा १४, माघ। आगामी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कास्की क्षेत्र नम्बर १ बाट आफ्ना पाका र अनुभवी नेता बैनबहादुर अधिकारी क्षत्रीलाई उम्मेदवार बनाएको छ। २०२९ साउन १ गते कास्कीको साविक कालिका गाविसमा जन्मिएका अधिकारीको राजनीतिक यात्रा करिब चार दशक लामो छ। २०३९ सालमा स्कुले जीवनदेखि नै विद्यार्थी सङ्गठन अनेरास्ववियुमा आबद्ध भई राजनीतिमा पाइला टेकेका अधिकारीले पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र बहालीका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी २०४३ सालमा युवा लिगको सदस्य बनेका थिए भने २०४६ सालको जनआन्दोलन ताका अनेरास्ववियु कास्कीको जिल्ला कमिटी सदस्यका रूपमा नेतृत्वदायी भूमिकामा रहेका थिए।

अधिकारीको राजनीतिक व्यक्तित्व केवल आन्दोलनमा मात्र सीमित छैन; उनी एक प्राज्ञिक र सुझबुझपूर्ण नेताका रूपमा समेत परिचित छन्। उनले व्यवस्थापन संकायमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन्, जसले उनलाई सामाजिक र प्रशासनिक मुद्दाहरूलाई गहिरो गरी बुझ्न मद्दत पुर्‍याएको छ। नेकपा एमालेभित्र उनले तल्लो तहदेखि माथिल्लो तहसम्मका विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिसकेका छन्। २०४६ भदौ ५ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरेका अधिकारीले गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कमिटी सदस्य र कार्यालय सचिव हुँदै हाल एमाले कास्कीको अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।

उनीसँग स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको लामो र सफल अनुभव छ। २०५४ सालको स्थानीय निर्वाचनमा कालिका गाविसको उपाध्यक्ष बनेर स्थानीय विकासको जग बसालेका अधिकारी २०७४ सालको निर्वाचनपछि जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुख निर्वाचित भएका थिए। जिसस प्रमुख रहँदा उनले जिल्लाभरका स्थानीय तहहरूको समन्वय, अनुगमन र विकास निर्माणका कार्यमा उल्लेख्य योगदान दिएका थिए। विशेषगरी स्थानीय तहका प्रशासकीय भवन, वडा कार्यालय, खानेपानी र सडक जस्ता भौतिक पूर्वाधारको विकासमा उनले चालेका कदमहरू अहिले पनि स्मरण गरिन्छन्।

राजनीतिक निष्ठा र सिद्धान्तका लागि अधिकारीले पटक-पटक जेल जीवन समेत भोगेका छन्। २०४६ सालको जनआन्दोलन, २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय निर्वाचन बहिस्कारको आन्दोलन र त्यसपछिको प्रतिगमन विरोधी आन्दोलनका क्रममा उनले कडा संघर्ष गरेका थिए। अहिले प्रतिनिधिसभा सदस्यका रूपमा कास्की १ का जनताको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ उनी चुनावी मैदानमा छन्। आफ्नो क्षेत्रको विकास, सुशासन र राष्ट्रिय राजनीतिमा कास्कीको दरिलो उपस्थितिका लागि आफ्नो उम्मेदवारी रहेको अधिकारी बताउँछन्। स्थानीय जनतासँगको प्रत्यक्ष घुलमिल र विकासप्रेमी छविका कारण यसपटकको निर्वाचनमा उनलाई एक बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0