पोखरा १४, माघ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०८१ सालको ३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा आगामी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीहरूको मौका परीक्षा माघ १८ गतेदेखि काठमाडौँमा मात्र सञ्चालन गर्ने भनिएको थियो। तर, देशका विभिन्न भागबाट आउनुपर्ने परीक्षार्थीहरूको असुविधा र आर्थिक व्ययभारलाई मध्यनजर गर्दै विश्वविद्यालयले आफ्नो पूर्व निर्णयमा परिमार्जन गरेको हो।
पनिकाले जारी गरेको पछिल्लो सूचना अनुसार अब यो परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरू अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी सञ्चालन गरिनेछ। यस व्यवस्थाले काठमाडौँ बाहिर रहेका हजारौँ परीक्षार्थीहरूलाई परीक्षा दिनकै लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ भने उनीहरूको आवतजावत र बसोबास खर्चमा समेत ठूलो राहत पुग्ने देखिएको छ। क्षेत्रीय केन्द्रहरूबाटै परीक्षा दिन पाउने भएपछि विद्यार्थीहरूमा खुसीयाली छाएको छ। त्रिविले परीक्षाको विस्तृत तालिका र केन्द्रहरूका बारेमा थप जानकारी क्षेत्रीय कार्यालयहरू मार्फत उपलब्ध गराउने जनाएको छ।

































