पोखरा १७, पौष। ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव सोमबार उत्साहजनक रूपमा सम्पन्न भएको छ। १२ दिनसम्म तालचोकमा चलेको यस मेलाले ११ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। महोत्सवका प्रचार-प्रसार संयोजक युवराज भट्टराईका अनुसार मेलामा ३ लाख ३५ हजार दर्शकले अवलोकन गरेका छन्। आयोजकले सुरुमा ९ करोडको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखेको भए तापनि महोत्सवले अपेक्षा गरेभन्दा निकै बढी सफलता हात पारेको छ। यसले शिथिल बनेको स्थानीय बजार र व्यवसायीको मनोबल उकास्न ठूलो सहयोग पुर्याएको आयोजकको दाबी छ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता मेला र महोत्सवले नै मुलुकको आर्थिक समृद्धिको आधार तयार पार्ने बताउनुभयो। प्रमुख आचार्यले पछिल्लो समय जेन–जी आन्दोलन लगायतका विभिन्न सामाजिक उतारचढावका कारण व्यवसायीहरूमा परेको क्षति र गिरेको मनोबललाई उकास्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो। उहाँले साविक लेखनाथ क्षेत्रको पर्यटकीय विकासका लागि बेग्नास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजनालाई प्राथमिकताका साथ अघि बढाइने र पोखरा–मुग्लिन सडक खण्डको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक गतिविधि अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले महानगरले लेखनाथको विकासमा कुनै पनि भेदभाव नगरी ठूला योजनाहरूलाई यहाँ केन्द्रित गरेको समेत स्पष्ट पार्नुभयो।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औं संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले ‘महोत्सवको पनि महोत्सव’ भन्ने विशिष्ट पहिचान स्थापित गरेको बताउनुभयो। उहाँले उत्पादक र उपभोक्तालाई सिधै जोड्न सफल हुनु नै महोत्सवको मुख्य उपलब्धि भएको चर्चा गर्दै सम्पूर्ण लेखनाथवासीको एकताले नै यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। कार्यक्रममा उत्कृष्ट स्टल राख्ने व्यवसायी र कलाकारहरूलाई सम्मान गरिएको थियो। महोत्सवबाट हुने आम्दानीलाई प्रस्तावित औद्योगिक क्षेत्र निर्माण र सामाजिक उत्तरदायित्वका विभिन्न सेवामूलक कार्यहरूमा खर्च गरिने संघले जनाएको छ। कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूले पनि लेखनाथको एकीकृत विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।































