पोखरा १०, पौष। कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार, कृषि र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो यात्रा हाल एक्काईसौँ संस्करणसम्म आइपुग्दा एक व्यापक उत्सवका रूपमा स्थापित भएको छ। महोत्सवको पाँचौँ दिन सोमबार आयोजित ‘कृषि बहस’ कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको अवसर जुराएको छ। उक्त बहसमा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैँची खेती गरिरहेका सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरीले आ-आफ्नो क्षेत्रका व्यावसायिक चुनौती र सफलताका अनुभवहरू साझा गरेका थिए। कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले सरकारका नीतिगत कार्यक्रम र अनुदानका विषयमा जानकारी दिँदै कृषक र सरकारबीचको सहकार्यमा जोड दिए।
महोत्सव केवल व्यापारमा मात्र सीमित नभई साहित्य र संस्कृतिको जगेर्नामा पनि उत्तिकै सक्रिय देखिएको छ। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजित साहित्यिक कार्यक्रममा दर्शकहरूका लागि विशेष प्रश्नोत्तर प्रतियोगिता सञ्चालन गरिएको छ। साहित्यिक संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार पौड्यालको जीवनी र कृतिमा आधारित प्रश्नको सही उत्तर दिनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। साथै, यस वर्ष डा. बोधराज ढकाललाई विशेष अभिनन्दन गर्ने कार्यक्रम समेत राखिएको छ। महोत्सव स्थलमा रत्यौली, लोकदोहोरी, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति र विभिन्न गायन कार्यक्रमहरूले थप रौनक थपेका छन्।
आर्थिक र पर्यटकीय दृष्टिकोणले पनि यो महोत्सव निकै सफल देखिएको छ। प्रचार-प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। २१औँ संस्करणसम्म आइपुग्दा यस महोत्सवले ४० लाख दर्शक र करिब डेढ अर्ब रुपैयाँको कुल कारोबार गरिसकेको छ। स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याइरहेको यो महोत्सव आगामी दिनमा अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको यो महोत्सवले स्थानीय अर्थतन्त्र र पहिचानलाई विश्वमाझ पुर्याउन महत्वपूर्ण कडीको रूपमा काम गरिरहेको छ।































