पोखरा २१, मंसिर। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको मुख्य सडकमा बढ्दो अव्यवस्थित सवारी चाप र पार्किङका कारण पर्यटकलाई असहज भएको गुनासो बढेपछि यसको समाधानका लागि पहल सुरु भएको छ। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले शनिबार आयोजना गरेको सरोकारवालाहरूको छलफलले पहिलो चरणमा लेकसाइडको सडकमा बस पार्किङ गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले भ्रमणमा आउने र भारतीय नम्बरका बस सडकमै पार्किङ गर्दा सडक अस्तव्यस्त बनेकोले तत्कालका लागि ठूला सवारी साधनहरूलाई पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिङ चोकमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए।

पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले मुख्य सडकमा ठूला सवारी साधनको पार्किङले जाम बढाएको भन्दै चरणबद्ध रूपमा सडक किनारको पार्किङ हटाउँदै वैकल्पिक क्षेत्रको पहिचान गरिनुपर्ने बताए। वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले अव्यवस्थित पार्किङले दुर्घटना बढाएको भन्दै ट्राफिक संकेत बोर्डको आवश्यकता औँल्याए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले हल्लनचोकदेखि बाराहीचोकसम्मको क्षेत्रलाई पहिलो चरणमा एकतर्फी बनाउन, ठूला सवारी साधनलाई यात्रु ओसारपसारमा मात्र प्रयोग गर्न र मालसामानका सवारीका लागि समयसीमा तोक्न सुझाव दिए। लेकसाइडलाई केही वर्षअघि ‘नो भेइकल जोन’ बनाउने प्रयास भए पनि स्थानीयको विरोधका कारण सफल हुन सकेको थिएन। छलफलबाट सडक सुरक्षा र व्यवस्थापनका लागि कार्यदल निर्माण गरी दीर्घकालीन समाधान खोज्ने निर्णय पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0