पोखरा २१, मंसिर। पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने मूल नाराका साथ पुस १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सव सञ्चालन गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अंग्रेजी नयाँ वर्षको आकर्षक गन्तव्यस्थलका रूपमा स्थापित गरेको बताए।
कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमका अनुसार, महोत्सव कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय सामग्रीको बजारीकरणमा सघाउन, पोखराको प्रचारप्रसार, व्यापार वृद्धि र ब्रान्डिङ गर्न केन्द्रित छ। महोत्सवका मुख्य आकर्षणहरूमा विभिन्न जातजातिहरूका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा र झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता लगायतका खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्। महोत्सव अवधिभर पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार प्रवर्द्धकका रूपमा रहेका छन्।






























